नेपाली फुटबल राजनीतिमा दावा लामा यस्तो नाम हो, जसले आफ्नो पक्षलाई भरपूर भर दिन्छ । मिठो बोल्ने, ठट्टा गरिरहने बानी र प्रतिबद्धता लामाका स्वभाव हुन् ।
आफ्नाहरूका लागि यति प्रिय लामाको व्यक्तित्व विपक्षीका लागि भने ठीक उल्टो रहन्छ । विपक्षीका लागि अत्यन्तै कटु शब्द निकाल्न लामाको हँसिलो अनुहार कत्ति पनि हिच्किचाउँदैन । फुर्तिला लामाको हातखुट्टा पनि चलेका उदाहरण छन् । विपक्षीलाई मात दिन उनी जुन हदसम्म पनि जान पछि पर्दैनन् ।
यही हो दावा लामाको वास्तविकता । सही लागेकालाई माथि उचाल्न र गलत लागेकालाई ध्वस्त पार्न उनी जुन हदसम्म पनि पुग्छन् । फरक पक्षका लागि लामाको रूप फरक नै देखिन्छ । तर एउटा कुरामा भने समानता छ, त्यो हो उनको जुझारूपन । एउटा जुझारू फुटबल नेताका रूपमा उनले आफूलाई प्रमाणित गरिसकेका छन् ।
प्लानिङ ब्वाइज क्लबको स्थापनादेखि ‘बी’ डिभिजन लिगसम्मको यात्राले उनको जुझारूपन र नेतृत्व क्षमता प्रमाणित गर्छ । कुनै बेला एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा विरोधी आन्दोलनमा वर्षौंसम्म एकोहोरिएका लामाको विद्रोही स्वभाव चार वर्षअघि आफैं एन्फा कार्यसमितिमा पुगेपछि पनि फेरिएन ।
यही जुझारूपन र नेतृत्व क्षमताका कारण हो, क्लब ‘सी’ डिभिजन क्लबको प्रतिनिधि भए पनि ३७ वर्षका लामालाई धेरै पाका फुटबलकर्मीहरूको टिमबाट उपाध्यक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको । ‘सी’ डिभिजनमै पनि फुटबलमा दशर्कौं बिताएकाहरूले समेत उनलाई संयोजकका रूपमा स्वीकार गरेको कारण पनि यही हो ।
असार ६ गते सोमबार पार्क भिलेज होटलमा हुने एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनका लागि लामा वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलबाट उपाध्यक्षका उम्मेदवार हुन् ।
‘हामी पूर्ण परिवर्तनका लागि चेन्ज एन्फाको नारासहित चार वर्षअघि निर्वाचनमा होमिएका थियौं । हाम्रो त्यही एजेन्डामा विश्वास गरेर हामीलाई मतदाताले निर्वाचित गराउनुभयो । तर, हामीले त्यसअनुसार काम गर्न सकेनौं । खासगरी नेतृत्वले पदमा पुग्नेबित्तिकै चुनावमा उठाएका एजेन्डा बिर्सियो । त्यसकारण पूरा चार वर्ष एन्फाभित्र प्रतिपक्षका रूपमा बिताउनुपर्यो,’ लामा भन्छन् ।
२०७४ सालमा चेन्ज एन्फाको नारासहित कर्माछिरिङ शेर्पाको प्यानल नै निर्वाचित हुँदा दावा लामा सबैभन्दा कान्छो केन्द्रीय सदस्यको रूपमा एन्फा कार्यसमितिमा प्रवेश गरेका थिए । चेन्ज एन्फाको अभियानमा लामो समयदेखि प्रतिबद्ध भएर लागेका लामाले त्यो चुनावमा अत्यधिक मत ल्याएका थिए ।
खेलाडीका रूपमा मैदानमा गरेको प्रदर्शनको गर्विलो स्मरण लामासँग छैन । उनले कुनै ठूलो क्लबबाट व्यावसायिक फुटबल खेल्ने मौका पनि पाएनन् । तर, व्यवस्थापनमा सक्षम भएका कारण उनी नेपाली फुटबल राजनीतिमा चतुर खेलाडीको रूपमा चिनिन्छन् ।
दाइहरूको पछि लागेरै भए पनि सर्लाही जिल्लामा हुने हरेक प्रतियोगिता हेर्न छुटाउँदैन थिए उनी । उनले जिल्लामा हुने केही प्रतियोगिता खेले पनि । अध्ययनका लागि देहरादुनमा रहँदा देहरादुन एफसीबाट पनि केही क्षेत्रीय प्रतियोगिताहरू खेलेको अनुभव पनि उनीसँग छ ।
२०५७ सालमा काठमाडौं पेप्सीकोलामा काकाको घरमा बस्न थालेपछि फुटबल पदाधिकारीका रूपमा उनको यात्रा सुरु भयो । फुटबल पहिल्यैदेखि उनको रूचिको विषय थियो । तर खेलाडीका रूपमा कुनै पहिचान नभएका लामा अल्मलिइरहेका थिए । पेप्सीकोलाको टाउन प्लानिङमा एउटा फुटबल मैदान छ । त्यो मैदानमा भाडा तिरेर खेल्नेहरूको भिड लाग्थ्यो । भाडाको पैसा कसले उठाउने भन्ने कुरामा सधैं टोलमा किचलो भइरहन्थ्यो । त्यो किचलोको एउटा पात्र लामा पनि हुन्थे ।
२०६४ सालमा लामाले नै सधैंको किचलोको स्थायी समाधान निकाले । मैदानको पैसा उठाउने विभिन्न समूहबीच उनले संवादको वातावरण बनाए । संवादका क्रममा लामाले प्रस्ताव गरे, ‘मैदानबाट उठ्ने रकम एउटा क्लब खोलेर त्यसको खातामा जम्मा गर्ने र त्यही क्लबमार्फत फुटबल गतिविधि अघि बढाउने ।’
लामाको प्रस्तावमा सबै सहमत भए । त्यही वर्ष लामाकै अध्यक्षतामा प्लानिङ ब्वाइज क्लब दर्ता भयो । क्लबले २०६६ सालमा सहिद स्मारक लिग प्रणालीमा प्रवेश गर्ने अठोटका साथ ‘सी’ डिभिजन छनोट प्रतियोगिता खेल्यो । त्यही वर्ष टोलीले ‘सी’ डिभिजनको हैसियत प्राप्त गर्यो । सहिद स्मारक लिग प्रणालीको भर्याङमा अर्को खुट्किलो चढ्न भने टोलीले १२ वर्षसम्म निरन्तर संघर्ष गर्नुपर्यो । प्लानिङ ब्वाइज केही साताअघि मात्र ‘सी’ डिभिजन लिगको उपविजेता बन्दै ‘बी’ डिभिजनमा उक्लिएको छ ।
लामाको क्लब ‘सी’ डिभिजनमै रहँदा २०७२ सालमा एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले ‘सी’ डिभिजन क्लबहरूको बैठक राखे । लामा प्लानिङ ब्वाइजलाई प्रतिनिधित्व गर्दै बैठकमा सहभागी भएका थिए । लामाले ‘सी’ डिभिजन क्लबको संयोजक तोकिनुपर्ने माग राखे । जसमा थापा सहजै सहमत भए । थापाले लामालाई नै ‘सी’ डिभिजन क्लबको संयोजक तोके । त्यहींबाट लामाको फुटबल राजनीतिले गति लिन थाल्यो ।
तर, ‘सी’ डिभिजनको संयोजक भएको केही समयमै लामा थापाविरुद्ध कर्माछिरिङ शेर्पाको नेतृत्वमा सञ्चालित आन्दोलनको मुख्य सिपाही भएर होमिए । अहिले शेर्पा नेतृत्वको कामबाट पनि उनी सन्तुष्ट छैनन् । त्यसैले निरन्तर आन्दोलनमा छन् । अचेल उनलाई ‘गलत मान्छे बोकिएछ’ भन्ने लागेर पछुतो लाग्न थालेको छ ।
‘म गणेश थापालाई अन्यथा भन्दिनँ । किनभने हामी अझैसम्म उहाँले नै बनाएको संरचनामा रमाइरहका छौं,’ लामाले भने, ‘म केन्द्रीय कमिटीमा रहेर पनि केही गर्न सकिनँ । त्यति बेला गणेश दाइसँग फुटबल विकासका बारेमा धेरै कुराकानी हुने गर्दथ्यो । तर, सिंगो फुुटबल समुदाय नै परिवर्तनको पक्षमा उभिँदा म गणेश दाइको पक्षमा लाग्न सकिनँ । कर्मा दाइको एजेन्डा राम्रो थियो । त्यही एजेन्डाका लागि उहाँको टिममा गएँ । तर नेतृत्व आफ्नै एजेन्डामा इमान्दार हुन सकेन ।’
आफैले समर्थन गरेर अध्यक्ष बनाएका शेर्पाविरूद्ध चार वर्षमै अर्को पक्षबाट चुनाव उठ्नुपर्ने अवस्था आउने उनको कल्पनामा पनि थिएन । तर, शेर्पा आफ्नै एजेन्डामा इमानदार नभएकै कारण नेम्वाङको नेतृत्वमा अर्को टिम बनाउनुपरेको उनी बताउँछन् ।
‘हामी चार वर्षअघि चेन्ज एन्फाको नारा लिएर नेतृत्वमा आएका थियौं । हामी बलियो टोली थियौं र नेपाली फुटबल विकासमा हामीले धेरै गर्न सक्थ्यौं । तर अध्यक्ष शेर्पामा तानाशाह प्रवृत्ति देखियो । टिम भावनाअनुसार उहाँ चल्नुभएन । सबै निर्णय एकलौटी ढंगले गर्नुभयो,’ लामाले आरोप लगाए, ‘केन्द्रीय कमिटी बैठकमा गरिएका निर्णय र साधारणसभाबाट गरिएका निर्णयमा समेत किर्ते काम गर्नुभयो । त्यही कारण हो, एउटै समूहबाट आएका हामीबीच नै चुनाव हुने अवस्था आएको ।’
नेतृत्व एकलौटी ढंगले चल्दा विगतमा गरिएका वाचा र योजना पूरा गर्न नसकेको बताउँदै लामाले आफूले पनि भाग पर्ने जिम्मेवारी लिने बताए । ‘हाम्रो नेतृत्व तानाशाह भयो । त्यसैले वाचाहरू पूरा गर्न सकेनौं । यसका लागि म नेपाली फुटबल समुदायसँग माफी माग्न चाहन्छु,’ उनले थपे ।
‘हामीले योजना त थुप्रै ल्यायौं तर त्यसलाई कार्यान्वयन भने गर्न सकेनौं । जुन विश्वास मैले कर्मा दाइको टोलीप्रति गरेको थिएँ । त्यो टोलीले विश्वासअनुसार काम गर्न सकेन । कर्मा दाइको नेतृत्व नै फेल भयो । विगतमा गणेश थापाले अध्यक्ष रहँदा अध्यक्ष र महासचिवको मात्र हस्ताक्षर चल्ने परम्परा बसाल्नुभएको थियो । हामीले त्यसको विरोध गरेका थियौं,’ लामाले अगाडि भने, ‘कर्मा दाइले पनि यही प्रवृत्तिलाई निरन्तरता दिनु यो । यो परिवर्तनको पक्षमा उभिएको समूहमा फाटो आउनुको मुख्य कारण रह्यो । मैले कर्माछिरिङ शेर्पासँग काम गरिसकें । उहाँ असफल भइसक्नुभयो । त्यसैले मैले पंकजविक्रम नेम्वाङको प्यानल रोजेको हुँ ।’
सहिद स्मारक लिगअन्तर्गत ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग खेल्ने अधिकांश क्लब काठमाडौंमा भए पनि मैदान अभावको समस्या आफैं भोगेका लामा यो अवस्थामा सुधार ल्याउने अभियानमा छन् । काठमाडौंमा कम्तीमा चारवटा सुविधासम्पन्न थप मैदानको व्यवस्था गर्ने, मोफसलका प्रतियोगितालाई समेत एन्फाकै बजेटभित्र समावेश गरेर सञ्चालन गर्ने, लिगलाई व्यवस्थित र व्यावसायिक बनाउनेलगायतका योजना लामाले बनाएका छन् ।