काठमाडौं । काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । बिहीबार पोखरा एभेन्जर्समाथि १३ रनको जित हासिल गर्दै काठमाडौंले प्लेअफ समीकरणमा आफ्नो स्थानलाई सुरक्षित गरेको हो ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका लागि स्पिनर शाहब आलमले ह्याट्रिकसहित सर्वाधिक ६ विकेट लिए । जसका कारण काठमाडौंले दिएको १६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले पछ्याउन सकेन । पोखराले २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै मात्र १५२ रन जोड्न सक्यो ।
६ विकेट गुमाइसकोको पोखरालाई अन्तिम ओभरमा जितका लागि २० रनको आवश्यकता थियो । कप्तान करण केसीले बलिङको जिम्मेवारी शाहबलाई दिएका थिए । सुरुआती तीन बलमा विकेट लिएका शाहब अन्तिम बलमा पनि सफल भए ।
एनपिएल इतिहासमै शाहब ६ विकेट लिने दोस्रो खेलाडी बनेका छन् । यसअघि अस्ट्रेलियन स्पिनर विलियम बसिस्टोले पहिलो सिजनमा पोखराविरुद्ध नै ६ विकेटको र्कीतिमान आफ्नो नाममा लेखाएका थिए ।
