बिर्तामोड, झापा । विभागीय टोली नेपाल पुलिस क्लबले झापामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा बिहीबार न्यु डायमण्ड क्लबमाथि सोझो सेटमा जित हासिल गरेको छ ।
बिहीबारको दोस्रो खेलमा पुलिसले २५–१, २५–१४, २५–१७ को सोझो सेटमा न्यु डायमण्डमाथि जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनायो ।
खेलमा पुलिसकी रिमा कुँवर प्लेयर अफ द म्याच चुनिइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी बलराम कार्कीलगायतले पुरस्कारस्वरुप नगद ५ हजार रुपैयाँ प्रदान गरे ।
बिहीबारै यसअघि भएको विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित हासिल गरेको थियो ।
प्लेयर अफ दी म्याच शृष्टि खड्गीको उच्च प्रदर्शन प्रेरित एपिएफले २५–१५, २२–२५, २५–१८, २५–१८ को नतिजा निकालेको थियो । प्लेयर अफ दी म्याच शृष्टीलाई प्रमूख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमूख खड्गमाया पराजुली र नगद सौजन्यकर्ता सीता ढकाललगायतले पुरस्कारस्वरुप ५ हजार रुपैयाँ प्रदान गरे ।
जारी प्रतियोगितामा यो एपिएफको दोस्रो जित हो । टोलीले यसअघि एभरेष्ट भलिबल क्लबमाथि जित हासिल गरिसकेको थियो । लगातार दुई जित हासिल गरेपछि एपिएफ समूह ‘ए’ बाट सेमिफाइनल प्रवेश गरेको छ ।
समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो शुक्रबार एभरेष्ट र आर्मीबीचको खेलले लगाउनेछ । शुक्रबार विजयी हुने टिम समूहबाट उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ ।
शुक्रबार प्रतियोगितामा पहिलो खेल एभरेष्ट र आर्मीबीच हुनेछ । दोस्रो खेलमा समूह ‘बी’का कोशी प्रदेश भलिबल टिम र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेस्ट र आर्मी छन् भने ‘बी’ मा न्यु डायमन्ड, कोशी र पुलिस छन् ।
प्रतियोगिताको दुवै सेमिफाइनल शनिबार हुनेछन् । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता तथा समूह ‘ए’ को उपविजेताले समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
आइतबार फाइनल हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
यसैगरी धिमालका अनुसार सर्वोत्कृष्ट खेलाडीले १५ हजार र प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले जनही १० हजार रुपैयाँ पाउने बताइएको छ ।
