फ्रेन्च ओपनः नाडाल सेमिफाइनलमा

पेरिस । साविकका विजेता नोभाक जोकोभिचलाई ६-२ ,४-६,६-२,७-६(७-४) को सेटमा पराजित गर्दै राफेल नाडाल १५ औं पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका छन् ।

फ्रेन्च ओपनको पछिल्लो नौ भेटमा नाडालले दुई पटक मात्र जोकोभिचलाई नतिजा सुम्पिएका छन् ।

कीर्तिमानी २१औं पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभिरेभको सामना गर्नेछन् । जर्मनीनका एलेक्जेन्डरले सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा मंगलबार कार्लोस अल्काराजलाई हराएका थिए ।

‘जोकोभिचलाई हराउने एउटा मात्र उपाय छ, खेलको सुरुआतबाट अन्त्य सम्म आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्ने’, नाडालले भने, ‘म आज स्वभाविक लयमा फर्किए ।’

नाडालसँगको हारपछि जोकोभिचको २१औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्यले समेत पूर्णता पाएन । जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् ।

नाडालले गत वर्ष फ्रेन्च ओपनको सेमिफाइनलमा जोकोभिचसँग हारको बदला समेत लिएका छन् । नाडालले फ्रेन्च ओपनमा अफ्नो दबाब कायम राख्ने क्रममा कुल एक सय १३ खेलमा एक सय १० खेल जितेका छन् ।

‘नाडालले आज पुनः विश्वकै उत्कृष्ट खेलाडी भएको प्रमाणित गरे । उनी मानसिक रुपमा निकेै बलियो देखिए,’ जोकोभिचले भने ।