रोमन तामाङ

महावीरमा परिचय बनाउँदै ‘रोमन’

काठमाडौं । नेपाली फुटबलमा लामो इतिहास बोकेको कुनैबेलाको महारथी महावीर क्लब अहिले नेपाली लिग संरचनाको सबभन्दा तल्लो श्रेणीमा प्रतिस्पर्धा गरिरहेको छ । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आज (बुधबार) महावीरले सिजनको अन्तिम खेल खेल्दैछ ।

पुल्चोक स्पोर्टस क्लबविरुद्ध आज दिउसो हुने खेल महावीरका लागि खासै अर्थपूर्ण छैन । यो खेल डिल्लीबजारे टोलीका लागि प्रतिष्ठाको लडाईमात्र हो । कारण, महावीरको ‘बी’ डिभिजनमा उक्लिने सम्भावना यसपालीका लागि पूरा नहुने पक्का भइसकेको छ । यसैगरी रेलिगेसनमा पर्ने खतरा पनि टोलीले टारिसकेको छ ।

लिगमा एक खेल बाँकी रहँदा १२ खेलबाट २२ अंक जोडेको महावीर अंकतालिकाको चौथो स्थानमा छ । जुन शीर्ष स्थानमा रहेर एक खेल बाँकी रहँदै माथिल्लो डिभिजनमा उक्लिइसकेको झापा फुटबल क्लबको भन्दा ९ अंक कम हो । ‘सी’ डिभिजनबाट दुई टोली माथि उक्लिने दौडमा अब १२ खेलबाट समान २८ अंक जोडेका प्लानिङ ब्वाइज र आरसी ३२ छन् । अन्तिम दिनको नतिजाबाट दोस्रो डिभिजनमा उक्लिने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

महावीरको ‘बी’ डिभिजन उक्लिने उद्देश्य यसपालीलाई पूरा नभए पनि क्लब व्यवस्थापन समग्रमा लिगको प्रदर्शनबाट सन्तुष्ट छ । क्लबका अध्यक्ष दीवाकर घले भन्छन्, ‘हामीले यसपाली उक्लिने लक्ष्य राखेका थियौं । केही खेलमा दूर्भाग्यपूर्ण गोल खाएका कारण हाम्रो लक्ष्य पूरा हुन सकेन । महत्वपूर्ण खेलमा केही मुख्य खेलाडी घाइते भएका कारण पनि अंक गुमाउनुपर्यो । समग्रमा हामीले राम्रो खेल्यौं ।’

समग्रमा सन्तोषजनक नतिजा हासिल गर्नुको पछाडि पूरा टिमको मेहनत कारक रहे पनि लेफ्ट विंगर रोमन तामाङको योगदान अतुलनीय रहेको घले बताउँछन् । भन्छन्, ‘यो लिगमा रोमनको प्रदर्शन एकनासको रहयो । उनको गोल गर्ने क्रमले निरन्तरता पाउँदा हामीले महत्वपूर्ण अंक हासिल गरेका छौं ।’

पछिल्लो पटक २०६२ सालमा शीर्ष डिभिजनको लिग खेलेको महावीरबाट दोस्रो सिजन लगातार ‘सी’ डिभिजन लिग खेलिरहेका रोमन क्लबका उच्च गोलकर्ता हुन् । मुख्य स्ट्राइकरहरुले गोल गर्न नसकिरहेका बेला रोमनले लगातार टोलीको जितको आधार बनाइरहेका थिए ।

२०५६ साल असार २८ गते झापा भद्रपुरमा जन्मिएका रोमनको सानैदेखि फुटबल मनपर्ने खेल थियो । गाउँका खाली जमिन र बाँझो बारीमा मोजाको बल हान्दै हुर्किएका रोमनले पछिल्लो सात वर्षयता भने फुटबललाई नै आफ्नो परिचय बनाएका छन् ।

सानैदेखि छरिता रोमनलाई गाउँका दाई रोकीमान लिम्बुको प्रेरणा र हौसलाले फुटबलमै रमाउने बनायो ।

त्यसयता, निरन्तर फुटबलमा अघि बढेका रोमन पछिल्लो सिजन गाँउकै दाई विकास थुलुङ राईको सहयोगमा महावीर क्लबसँग जोडिएका थिए ।

महावीरले लिगमा हालसम्म खेलेका सबै १२ खेलमा रोमनले पूरा ९० मिनेट नै मैदानमा बिताएका छन् । लिगमा अनुशासित प्रदर्शन गरिरहेका रोमनले अहिलेसम्म कार्ड बेहोरेका छैनन् ।

तर क्लबलाई माथिल्लो डिभिजनमा उकाल्न नसकेकोमा रोमन निराश छन् ।  

‘लिगमा सहभागी सबै क्लबको लक्ष्य भनेकै माथि उक्लिने भन्ने हुन्छ । हाम्रो पनि त्यही थियो । हामीले राम्रो सुरुआत पनि गरेका थियौं । तर, बीचमा रानिवन स्पोर्टस क्लब र आरसी ३२ फुटबल क्लबसँगको खेल बिग्रिदा हामी पछि पर्यौं,’ रोमनले भने ।’

यस पटक लिगमा खालिबारीविरुद्धको खेल सबैभन्दा स्मरणीय लाग्छ, रोमनलाई । नलागोस् पनि कसरी, खेलमा १–० ले पछि पर्दा उनले नै दुई गोल गर्दै महावीरलाई पुनरागमनमा जित दिलाएका थिए ।

यसवर्ष बढुवा हुने सम्भावना समाप्त भए पनि यही लयलाई कायम राख्ने हो भने अर्को सिजन महावीर ‘बी’ डिभिजनमा बढुवा हुनेमा रोमन विश्वस्त छन् ।

पछिल्लो सिजन गरेको प्रदर्शनकै कारण महावीरले यस वर्ष पनि प्रमुख खेलाडीको रुपमा रोमनलाई टिममा राखेको थियो ।

‘रोमनको फुटबलप्रतिको लगाव एकदमै उल्लेखनीय छ । उ एकदमै मेहनती र क्षमतावान खेलाडी हो । त्यही कारण हामीले यसपाली उसलाई महत्वपूर्ण भूमिकाका साथ टिममा अनुबन्ध गरेका हौं,’ महावीरका प्रशिक्षक सरोज उप्रेती भन्छन् ।

लिगमा १७ नम्बर जर्सी लगाएर खेलिरहेका रोमनको मनपर्ने खेलाडी पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो हुन् । यसैकारण लिगमा ७ नम्बर जर्सी लगाउन खोजे पनि गाउँबाटसँगै आएको साथीका लागि रोमनले उक्त नम्बर त्यागे । तर, जर्सीमा ७ अंक नछुटाउने चाहनाका कारण १७ नम्बर रोजे ।

लिगका लागि उनलाई अन्य क्लबले नबोलाएका होइनन् । तर, पछिल्लो सिजन पनि खेलेको क्लबलाई छोडेर अन्यत्र क्लब जान रोमनको मनले मानेन ।  अघिल्लो सिजन महावीरबाट राम्रो रेस्पोन्स पाएका रोमनले यही क्लबसँगको सहकार्यलाई निरन्तरता दिने निर्णय गरे ।

सानैदेखि चुलबुले स्वभावका रोमन अझै पनि उस्तै छन् । फुटबलमा सानैदेखि रुची राख्ने रोमनले फुटबल कै कारण आफ्नो पढाईलाई समेत पर्याप्त समय दिन सकेनन् । फुटबलकै कारण उनले औपचारिक शिक्षालाई ८ कक्षासम्म मात्र निरन्तरता दिन सके ।

तर, रोमनले सोचेजसरी फुटबल करियरलाई सहज रुपमा अघि बढाउन भने सकेनन् । फुटबलकै कारण पढाई छोडे पनि घरको आर्थिक अवस्थाले उनलाई खेलमा रमाउन दिएन ।  यसैकारण, उनी कलिलै उमेरमा कमाउन भनी भारतको बेङ्लोर पुगे । तर, फुटबल मोहमा लट्ठिएका रोमनलाई सपनाले लखेटिरहयो । र, फुटबलमै करियर खोज्ने दृढ संकल्पसहित बेङ्लोर पुगेको एक वर्षमै नेपाल फर्किए र प्रशिक्षण सुरु गरे ।

फुटबल नै खेल्छु भनेर फर्किएपछि आमा देविमाया तामाङले पनि छोराको भावना टार्न सकिनन् र ‘मन लागेको कुरा गर्नु’ भनेर छोडिदिइन् । रोमन पनि आमाले दिएको साथ र हौसलाका ऋणि छन् ।

रोमन सम्झन्छन्, ‘घरको आर्थिक अवस्था निकै कमजोर भएकाले रोजगारीको लागि भारत गएँ । तर, फुटबलर बन्ने सपनाले छोडेन । अनि, एक वर्षमै फर्किएर आमालाई म फुटबलमा नै केही गर्छु भनेँ । आमाले पनि ‘जे गर्दा खुसी हुन्छस् त्यही गर’ भन्नुभयो । अनि म निराश हुँदा मलाई हतोत्साहित हुन दिनु भएन । सँधै मन लगाएर खेल भन्नुहुन्थ्यो ।’

फुटबलमै करियर बनाउने अठोटसाथ अघि बढेका रोमन राष्ट्रिय टिमसम्मको यात्राका लागि भने अझै कडा मेहनत आवश्यक रहेको बताउछन् ।

‘राष्ट्रिय टिमबाट खेल्ने इच्छा त हरेक खेलाडीको हुन्छ । तर, त्यहाँसम्म पूग्न धेरै कडा मेहनतको आवश्यकता छ । त्यसैले अहिले नै म यो समयसम्म त्यहाँ पुग्छु भन्दिन,’ रोमन भन्छन्, ‘आफ्नो मेहनतलाई छोड्दिन । अझै बढाउँदै छु । हेर्दै जाउ । अहिले एक्लै मेहेनत गर्दैछु । पुगेको दिन त सबैले चिनिहाल्छन् नि ।’