राइजिङ स्टार खुला टेनिस प्रतियोगिता

बोरिस र शिभाली च्याम्पियन

राइजिङ स्टार खुला टेनिसको यू-१४ गर्ल्स सिंगल्समा स्वर्ण विजेता शिभाली गुरुङ

काठमाडौं । बोरिस अधिकारी र शिभाली गुरुङ प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यू-१४ सिंगल्समा च्याम्पियन बनेका छन् ।

बोरिस ब्वइज तथा शिभाली गर्ल्समा च्याम्पियन बनेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको ब्वाइज फाइनलमा बोरिसले वृजेश अर्याललाई ६-२ र ७-६ को सोझो सेटमा पराजित गरे । गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई सीधा सेटमा ६-० र ६-१ ले हराइन् ।

राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको सर्वाधिक पुरस्कार राशीको टेनिस प्रतियोगिताअन्तर्गत यू-१६ ब्वाइज सिंगल्समा शंकर हैस्नान र गर्ल्समा सुनिरा थापा च्याम्पियन बने ।

फाइनलमा शंकरले राजवीर प्रधानलाई ४-६, ६-४ र ६-१ को सेटमा हराए। सुनिराले शिभालीलाई ६-२, ५-७ र ६-१ ले पराजित गरिन् ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष डबल्समा अकी जुवेन रावत र आरभसम्राट हाडाको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा प्रणव खनाल र अभिनव आचार्यको जोडीलाई ६-३ र ६-४ को सोझो सेटमा पराजित गरेका हुन् ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा मोहम्मद युनुसले रोहित सुनुवारलाई ६-४ र ६-२ ले हराए । ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले राजु श्रेष्ठमाथि ६-० र ६-२ को सहज जित दर्ता गर्दै शीर्ष स्थान हात पारे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्रीले कमलबहादुर भण्डारीलाई ६-७, ७-५ र १०-५ तथा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दावा सोनाम शेर्पालाई ६-२ र ६-० ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको अन्तिम दिन शनिबार भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स तथा पुरुष/महिला सिंगल्सको फाइनल हुनेछ ।