पारा तेक्वान्दो

रञ्जनालाई कांस्य पदक

काठमाडौं । नेपालकी रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको तेक्वान्दो छनोट प्रतियोगितामा बिहीबार कांस्य पदक जितेकी छन् ।
     
संयुक्त अरब इमिरेट्स (युएई) को सारजाहमा भएको के ४४ क्याटगोरीअन्तर्गत महिला ४७ केजीमुनि सेमिफाइनलमा काजाकिस्तानकी मिलानासँग रञ्जना १८–१६ ले पराजित भइन् ।

शीर्ष दुई स्थानमा रहने खेलाडी मात्र एसियाली पारा खेलकुदका लागि छनोट हुने प्रावधान रहेकोले रञ्जना छनोट हुन भने नसकेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।
   
यस्तै, अर्का खेलाडी रामबहादुर अधिकारी पहिलो चरणमै पराजित भए । के ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि रामबहादुर इराकका अब्बास हुसैनसंग ३३–३७ ले पराजित भए ।

पारा ओलम्पियन पलेशा गोबर्धन र सिर्जना घिसिङ भने विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी दिए ।