व्यक्तिगत खर्चमा एसियन च्याम्पियनसिप खेल्दै नेपाली खेलाडी

काठमाडाै (खेलाडी)- कक्षा नौमा अध्ययनरत १३ वर्षकी इभाना थापा नेपाली खेलकुदमा अहिले चर्चाको केन्द्रमा छिन् । टेबल टेनिस खेलाडी इभाना अहिले एसियाली च्याम्पियनसिपको लागि राष्ट्रिय टोलीका अन्य सहकर्मीहरुसँग प्रशिक्षणमा व्यस्त छिन् ।

यही असोज १२ देखि १९ गतेसम्म हुने २५औं एसियन टेबल टेनिस च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय टोली असोज १० गते कतार प्रस्थान गर्ने भएको छ । 

कतार जानका लागि अहिले ६ खेलाडी प्रशिक्षणमा छन् । तर टोलीकी सबभन्दा कान्छी इभाना राष्ट्रिय टिमकी सबैभन्दा कान्छी खेलाडी हुन् । 

यसअघि टेबल टेनिसको इतिहासमा राष्ट्रिय टिममा कान्छी खेलाडी तथा राष्ट्रिय च्याम्पियनसिप नखेली टोलीमा पर्नु दूर्लभ कुरा भएको राष्ट्रिय खेलाडी सिक्का सुवाले बताइन् । 

‘पहिलो वरीयताको खेलाडी हुँ । राष्ट्रिय च्याम्पियनसिप नखेलीकन १३ वर्षको वर्षको उमेरमा टोलीमा पर्नु भनेको दुर्लभ कुरा हो । इभाना सिनियर टेबल टेनिस टिममा पर्ने सबैभन्दा कान्छी खेलाडी हुन् ’ उनले भनिन् । 

कक्षा पाँचदेखि खेल्न सुरु गरेकी इभानाले लकडाउनको पुरा फाइदा उठाउदै राष्ट्रिय टिमसम्मको यात्रा तय गरेको उनी प्रशिक्षक तथा राष्ट्रिय खेलाडी सुवाले खेलाडीसँग बताइन। 

‘लकडाउनको समयमा पनि आएर प्रशिक्षण गर्थिन । उनको घर र एभियम टेनिस क्लब नजिकै भएकाले सहज पनि भयो । त्यहीं परिश्रमको फल आज पाइँन ।’ 

यस्तै उनले इभाना बाहेक प्रत्येक खेलाडीले खर्च आफैले हाल्नुपर्ने बताइन । 

‘उसको आमाबुबा दुवै विदेश छन् । परिवारको अवस्था पनि सामान्य नै छ । उसलाई संघले पैसा हाल्दिने भएको छ तर अरु सबैले आफै पैसा हाल्नुपर्छ ,’ उनले थपिन् ‘हामीबाट संघले ६५ हजार टिकट, ४० हजार क्वारेन्टाइन फि उठाएको छ अरु बाँकी भिसा फि, पीसीआर त छँदैछ ।’ 

सदस्यसचिवले आफूले हालेको पैसा फिर्ता दिने कुरा गरे पनि धेरै समयदेखि यस्तै भइरहेको बताइन ।

‘सदस्यसचिवले व्यक्तिगत पैसामा जानु र फर्किएपछि दिने कुरा भएको छ । हामी मात्र नभएर सम्पूर्ण खेलकुदका आफैले पैसा हालेर गएका छन् । तर सम्पूर्ण पैसा खेलाडीले नै हाल्ने भए संघको के काम ? ओलम्पिक कमिटी छ, त्यसको के काम ?’ उनले थपिन्, ‘पहिला पनि यसैगरी व्यक्तिगतै पैसामा गएका थियौ फिर्ता हुन्छ भन्थें तर भएन ।’

इभानाले रािष्ट्रय खेलाडी सिक्का सुवाल र पुरुषोत्तम बज्रचार्यबाट प्रशिक्षण लिएकी हुन् । 

१३औं दक्षिण एसियाली खेलकुद (साग) बाट ५ खेलाडी र खुल्लाबाट ५ खेलाडीमा इभाना परेकी थिइन् । च्याम्पियनसिपको लागि भएको छनोटमा परेका कुल १० खेलाडीमा उनले अन्तिम छनोटबाट उत्कृष्ट तीनमा परेकी थिइन् । 

यता अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज बैद्यले भने संघको बेवास्ताका कारण खेलाडी व्यक्तिगत खर्चमा जान लागेको खबर आधारहिन भएको दाबी गरे ।

'मलाई के लाग्छ भने संघ र खेलाडीबीच जुन कुराको सहमती भएको थियो,त्यसको गलत ढंगबाट व्याख्या भयो,' बैद्यले भने, 'हामीलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)बाट प्रतियोगिताका लागि माग गरिएको बजेट प्राप्त भएको छैन । मैले पटकपटक रकम भुक्तानी गरिदिन सदस्यसचिवलाई आग्रह पनि गरेँ । तर तत्काल रकम निकासा हुने सम्भावना छैन । त्यसैले सबैको सहमतीमा प्रतियोगितामा सहभागि हुने खेलाडी र संघले आधा आधा रकम व्यवस्थापन गर्ने भन्ने हो । खेलाडीले अहिले प्रतियोगिताका लागि खर्च गरेको रकम पछि फिर्ता गर्ने भन्ने सहमती नै भएको छ । यो टेबल टेनिसमा नौलो प्रयोग होइन । यसअघि पनि यही प्रक्रियाबाट खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता हुँदै आएको थियो ।'