जेरार्डको कोसेढुंगामा रेन्जर्स निराश

ग्लास्गो, (खेलाडी)- प्रशिक्षकका रुपमा स्टेभन जेरार्डको ५०औं युरोपियन खेलमा रेन्जर्स बिहीबार राति लियोनसँग २-० को नतिजामा पराजित भएको छ । 

युरोपा लिग समूह ‘ए’ को पहिलो खेलमा लियोनका लागि कार्ल टोको इकाम्बी र जेम्स टाभेमिरले गोल गरेपछि जेरार्डको रेन्जर्सले घरेलु मैदानमा हारका साथ प्रतियोगिताको सुरुआत गरेको थियो । 

पछिल्ला दुई सिजन रेन्जर्स युरोपा लिगको अन्तिम १६ सम्म पुगेको थियो । लियोन भने गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखसँग पराजित भएको थियो । 

समूह ‘ए’ अन्तर्गत बिहीबारै भएको अर्को खेलमा ब्रोन्डबी आइएफ र स्पार्टा प्रागले गोलरहित बराबरी नतिजा निकाले । 

युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगितामा बिहीबारै समूह ‘बी’ मा नेदरल्यान्ड्सको पिएसभी आइन्डहोभन र स्पेनिस ला लिगाको टोली रियाल सोसिडाडले २-२ को बराबरी नतिजा निकाल्दा फ्रान्सको मोनाकोले स्टर्म ग्राजलाई १-० ले हरायो । 

मोनाकोलाई घरेलु मैदानमा जितका साथ प्रतियोगिताको सुरुआत गर्न ६६औं मिनेटमा क्रेपिन डियाटाले गरेको एउटै गोल पर्याप्त भयो ।

उता पिएसभीले घरेलु मैदानमा लिएको अग्रता जोगाउन नसक्दा विजयविमुख हुनुपर्यो । 

मारियो गोइट्जेको गोलमा ३१औं मिनेटमा पिएसभीले अग्रता लिएको थियो । तर त्यसपछि पाँच मिनेटको बीचमा दुई गोल गर्दै सोसिडाडले खेलको अवस्था उल्टायो । अद्नान जानुजाजले ३४ तथा एलेक्जेन्डर इसाकले ३९औं मिनेटमा गोल गरेपछि सोसिडाडले मध्यान्तरसम्ममा २-१ को अग्रता लिइसकेको थियो ।

गोइट्जेकै पासमा कोडी गाक्पोले ५४औं मिनेटमा गोल गरेपछि पिएसभीले संघर्षपूर्ण खेलमा बराबरी नतिजा निकाल्यो ।  

समूह ‘डी’मा ओलम्पियाकोसले विजयी सुरुआत गर्ने क्रममा रोयल एन्टवेर्प एफसीलाई २-१ ले हराउँदा इन्ट्रयाक्ट फ्रयांकफर्ट र फेनेरबाचेले १-१ को बराबरी नतिजा निकाले ।