सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस

सम्झना कप टेबल टेनिसः पूर्व राष्ट्रिय च्याम्पियन गीतालाई स्वर्ण

ललितपुर । पूर्व राष्ट्रिय च्याम्पियन एवं दक्षिण एसियाली खेलकुदकी कांस्य पदक विजेता गीता थापा मगरले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला एकलमा मंगलबार स्वर्ण पदक जितेकी छन् ।

ललितपुर टेबल टेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनलमा धरान टेबल टेनिस क्लबकी गीताले ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस एकेडेमीकी इन्दिरा पराजुलीलाई ११-९, ११-३, ११-५ को सोझो सेटमा पराजित गरिन् । सिवाइसीकी विजेता ब्यञ्जन्कार र ज्ञानभैरवकी सम्झना पोखरेल तेश्रो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु-१६ गर्ल्स सिंगल्समा धरान एन्ड टिस्टा टोर्सा टेबल टेनिस एकेडमीकी श्रेया धर पहिलो भइन् । श्रेयाले फाइनलमा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीकी सुस्मिता खड्कालाई सीधा सेटमा १२-१०, ११-४ , ११-८ ले हरा्एकी हुन्  । होप्सकी योङगी पौडेल र एपीएफ क्लबकी सोनम ठाकुर तेश्रो बने । दुवै स्पर्धामा स्वर्ण जित्नेलाई कोरियन बिबीक्युको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । भारतबाट १६ पुरुष र आठ महिला तथा चीनबाट दुई महिला खेलाडी सहभागी हुने छन् ।

प्रतियोगितामा पुरुष/महिला एकल र युगल , पुरुष एकल भेट्रान ४० वर्षमाथि र ५५ वर्षमाथि, महिला एकल भेट्रान ४० वर्षमाथि तथा यु-१६ ब्वाइज/गर्ल्स सिंगल्स गरी ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

पुरुष/महिला एकल र युगलमा शीर्ष तीन स्थान हात पार्ने क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार रुपैयाँ जित्ने छन् । कुल नगद पुरस्कार राशी ५ लाख ८० हजार रुपैयाँ छ ।