विविध खेलकुद प्रतियोगिता

विविध खेलकुदः सुजन र वियंकालाई स्वर्ण

काठमाडौं । ललितपुरका सुजन गेडाल र एभिएम टेबल टेनिस क्लबकी वियंका राईल दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।

यु-१९ सिंगल्सको ब्वाइजमा सुजन तथा गर्ल्समा वियंकाले स्वर्ण जितेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको ब्वाइजमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व बानियाँ र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीका गनञ्जय दाहाल तेश्रो भए । गर्ल्सका एभिएमकी इभाना थापा दोस्रो तथा मोर्डन कलेजकी दिया देउला र सुनसरीकी अन्जलीकुमारी ठाकुर तेश्रो स्थानमा रहे ।

मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु-१५ ब्वाइज सिंगल्समा सुनसरीका सिद्धार्थ तामाङ पहिलो, बुटवल टेबल टेनिस एकेडेमीका सौरव खड्का दोश्रो तथा एभिएमका एरिश शाक्य र गल्कोपाखा समाज सेवाका आर्यन शाही तेश्रो भए ।

उक्त स्पर्धाको गर्ल्समा स्ट्यागकी सुस्मिता खड्काले स्वर्ण, नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले रजत तथा प्रभातकी करिना सुवाल र सुनसरीकी सुलेखाकुमारी ठाकुरले कांस्य जिते ।

चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ८ हजार रुपैयाँ प्राप्त गरे । 

विजेतालाई काठमाडौं महानगरपालिककी उपमेयर सुनिता डंगोल, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र उपमहासचिव सुवर्ण श्रेष्ठ, आयोजक एकेडेमी अन्तर्गत टेबल टेनिस विभागका प्रमुख महेन्द्र लिगललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा एक सय ६० खेलाडी सहभागी थिए । यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबलटेनिस प्रतियोगिताका लागि १२ खेलाडी छनोट गरिने छ ।