सहिद स्मारक ‘ए’ डिभिजन लिग

नेपाली लिगमा १७ देशका खेलाडीको हैकम

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९-८० को दसौं चरण सकिएका छन् । २० अंकसहित जावलाखेल युथ क्लब शीर्षस्थानमा छ । अंकतालिकाको यो अवस्थालाई अप्रत्यासित समीकरण मान्न सकिन्छ । किनकि लिग सुरू भएसँगै मैदानमा अनपेक्षित नतिजाको शृंखला नै सुरू भयो । लिग सुरू हुनुपूर्व कसैले नपत्याएका जावलाखेल र सातदोबाटो युथ क्लब उपाधिका मुख्य दाबेदारका रूपमा उभिएका छन् । शीर्षस्थानमा पालैपालो यिनै दुई क्लब पुगिरहेका छन् ।

जारी लिगमा विदेशी खेलाडीको निर्णायक प्रदर्शनका कारण यो सब सम्भव भएको हो । कागजमा कमजोर मानिएका टोलीहरू उपाधि दाबेदारका रूपमा अगाडि प्रस्तुत हुनुमा विदेशी खेलाडीकै प्रदर्शन  महत्त्वपूर्ण रहँदै आएको छ । लिगअघि ४० भन्दा बढी खेलाडी विदेश पलायन भएपछि प्रतिभाको खडेरी लागेको नेपाली फुटबललाई युवाले थेग्न सकेनन् । यही बेला लिगलाई प्रतिस्पर्धात्मक बनाउन स्तरीय विदेशी खेलाडीको आवश्यकता थियो । एन्फाले यही कारण क्लबहरूको अनुरोधमा विदेशी खेलाडीको कोटा ४ बाट बढाएर ५ पुर्याएको थियो । विदेशी खेलाडीले अपेक्षाअनुसारकै भूमिका निर्वाह गरिरहेका छन् । यही कारण हो जावलाखेल र सातदोबाटो शीर्षस्थानमा पालैपालो पुगिरहेको ।

त्यसो त दुई पटकको साबिक विजेता मछिन्द्र फुटबल क्लब, कीर्तिमानी आठपल्टको  लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले पनि स्तरीय विदेशी खेलाडी समावेश गरेका छन् ।

सातदोबाटोको प्रदर्शन निखार्नमा घानाको यु-२० टोली र सर्बियाको यु-१७ टोलीबाट खेलिसकेका खेलाडीको अनुबन्धनले भूमिका खेलेको छ । जावलाखेलको शिखर यात्रामा गुएनाका फोडे फोफाना, लेसोथोका एनकोटो मासोबी र उज्वेकिस्तानका अब्दुला जिजनिशोन्बाइवको प्रदर्शन महत्त्वपूर्ण बन्दै आएको छ । मासोबीले आठ गोल गरिसकेका छन् भने टोलीको आक्रमणमा फोफानाले धार लगाइरहेका छन् ।

गण्डकी प्रदेशका युवा खेलाडीमा आधारित मनाङको प्रदर्शन पनि विदेशी खेलाडीको भरमा छ । स्पेनिस महारथी बार्सिलोनाको एकेडेमीबाट खेलेका डिन्वान्डोउ निआङ डिआग्नेले प्रभाव जमाएका छन् । मनाङको मध्यभागदेखि सबै क्षेत्र उनकै नियन्त्रणमा हुन्छ । उनलाई रोक्न सफल भए जुनसुकै टोलीले मनाङको अंक खोस्न सक्ने बताइन्छ । ‘उसको राम्रो खेलाडी पाँच नम्बर (डिआग्ने) हो । उसलाई रोकेपछि हाम्रो पक्षमा खेल आयो,’ मनाङलाई १-० ले हराएपछि सातदोबाटोका प्रशिक्षक सनोज श्रेष्ठले भनेका थिए ।

स्टार नेपाली खेलाडीहरूले छाडेपछि एकाएक कमजोर जस्तो देखिए पनि बाँकी रहेका खेलाडीलाई राम्रा विदेशीको साथ मिलाएर मछिन्द्रले लगातार तेस्रो पटक उपाधिमा दाबेदारी प्रस्तुत गरिरहेको छ । खासगरी नाइजेरियाका आफिज ओलावाले, भुटानका कप्तान चेन्चो ग्याल्सेन र क्यामरुनका आन्द्रनिआको योगदानमा टोलीको उपाधिमा ह्ह्याट्रिक गर्ने महत्त्वाकांक्षा निर्भर भइरहेको छ ।

यसपटक लिगमा अफ्रिकन खेलाडीको प्रभाव छ । एसियन कोटा थप हुँदा जापान र लेबनानका खेलाडीको प्रभाव उस्तै छ । यसैगरी उज्वेकिस्तानका खेलाडीको प्रभाव पनि नेपाली फुटबलमा बढ्दो छ । नेपालभन्दा माथिल्लो फिफा वरीयतामा रहेका यी देशका खेलाडीले स्तरीय प्रदर्शन गर्दा क्लबहरूले राम्रो नतिजा निकालेका छन् । त्यतिमात्रै हैन, नेपाली खेलाडीका लागि यो सिक्ने अवसर पनि बनेको छ ।

समग्रमा विदेशीमा निर्भर जारी लिगमा १४ क्लबबाट अहिलेसम्म कुल ३ सय ९२ खेलाडी दर्ता भएका छन् । सबभन्दा धेरै पुलिसले ३४ तथा थ्री स्टार क्लबले ३१ खेलाडी दर्ता गरेको छ भने हिमालयन शेर्पा र जावलाखेल युथ क्लबले समान ३० खेलाडी दर्ता गराएका छन् । त्रिभुवन आर्मीले २९ खेलाडी दर्ता गराउँदा फ्रेन्ड्स, खुमलटार, एपिएफ, चर्च ब्वाइज, र संकटाले समान २८ खेलाडी अनुबन्ध गरिसकेका छन् । एनआरटीबाट २७ खेलाडी एन्फामा दर्ता हुँदा मछिन्द्रले २५ तथा मनाङ र सातदोबाटोले २३/२३ जना खेलाडी दर्ता गराएका छन् ।

सबै क्लबबाट एन्फामा दर्ता गरिएकामध्ये विदेशीको संख्या ६० छ । त्यो भनेको साढे १५ प्रतिसत हो । प्रत्येक क्लबले बढीमा ५ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भए पनि नेपाली त्रिभुवन आर्मी क्लबले एक जना पनि विदेशी खेलाडी भित्र्याएको छैन । अर्को विभागीय टोली नेपाल पुलिसले तीन विदेशीमात्र अनुबन्ध गर्दा एपिएफ, थ्री स्टार चार र सातदोबाटोले पनि अहिलेसम्म चार/चार जना विदेशीलाई मात्र भित्र्याएका छन् ।

नेपालमा खेलिरहेका विदेशीमध्ये फिफा वरीयताको सबभन्दा माथि (१८औं स्थान) मा रहेको सेनेगलका एक खेलाडी छन् । सबभन्दा धेरै ४२औं वरीयताको अफ्रिकी मुलुक क्यामरुनका १३ खेलाडी छन् भने छिमेकी भारत (१०१औं स्थान) र अफ्रिकी मुलुक घाना (६०औं स्थान)का समान ११ खेलाडी छन् । यसैगरी ४०औं वरीयताको नाइजेरियाका ६, ७४औं वरीयताप्राप्त उज्वेकिस्तानका चार तथा ९९औं स्थानको लेबनानका तीन खेलाडी नेपाली लिगमा खुट्टा चलाइरहेका छन् । २०औं वरीयताको एसियाली महारथी जापानका दुई खेलाडी रहेको नेपाली लिगमा दक्षिण एसियाली प्रतिद्वन्द्वी भुटान (१८५औं स्थान), टोगो (१२९औं स्थान), चाड (१८१औं स्थान), माली (५३औं स्थान), गुएना (७९औं स्थान) र लेसोथो (१५०औं स्थान) का एक/एक खेलाडी छन् ।

नेपाली लिगमा १७ देशका खेलाडी सक्रिय रहँदा १५ देशको फिफा वरीयता नेपाल (१७४औं स्थान) भन्दामाथि छ भने १८१औं स्थानको चाड र १८५औं स्थानको भुटानमात्र नेपालभन्दा तल छन् ।

मनाङ मर्र्याङ्दी क्लब:

डिन्वान्डोउनिआङ डिआग्ने- सेनेगल
कोफी टिमोथी कोउडी- टोगो
सइद जामोल डाभ्लात्जोनोभ- उज्वेकिस्तान
साहिद ओलुवासिना आफिज- नाइजेरिया
यश तुकाराम महात्रे- भारत

आठ पटकको कीर्तिमानी च्याम्पियन मनाङले यसपालि लिग जित्ने लक्ष्य बनाएको छैन । गण्डकी प्रदेशलाई मध्यनगर गर्दै युवा खेलाडी अनुबन्ध गरेको छ । मनाङमा राष्ट्रिय टोलीबाट नियमित खेलिरहेका गोलकिपर दीप कार्कीमात्र छन् । यद्यपि मनाङले विदेशी खेलाडीबाट नै राम्रो नतिजा निकाल्ने योजना बनाएको छ । मनाङले अनुबन्ध गरेको नाममा सेनेगलका डिआग्ने र उज्वेकिस्तानका डाभ्लोतजोनोभ नै ठूलो नाम हो । डिआग्नेले स्पेनिस महारथी बार्सिलोनाको ‘बी’ टोलीका खेलाडी हुन् । यद्यपि चोटले गर्दा डिआग्नेले स्वाभाविक प्रदर्शन गर्न सकेका छैनन् । यसैगरी टोगोका कोफीले समेत उत्कृष्ट प्रदर्शन जारी राख्दा मनाङ लयमै देखिन्छ । कोफीलेले ४ गोल गरेका छन् भने डाभ्लातजोनोभको नाममा ३ गोल छ ।

मछिन्द्र फुटबल क्लब:

ओमोलाज नुरैन करिम- नाइजेरिया
आन्द्रनिआ- क्यामरुन
युुता सुजुकी- जापान 
चेन्चो ग्याल्से- भुटान
आफिज ओलावाले ओलाडिपो- नाइजेरिया

लिगका लागि मछिन्द्रले नियमअनुसार ५ खेलाडी अनुबन्ध गरेको छ । चेन्चो र आफिज लिगको छैटौं चरणबाट मात्रै जोडिए । पछिल्लो ६ खेलमा (दसौं चरण आइपुग्दा) आठ गोल गरेका आफिज उच्च गोलकर्ताको दौडमा शीर्षस्थानमा छन् । उनले खुमलटारविरुद्ध एक्लै ५ गोल गरेका थिए । उपाधिमा ह्याट्रिक गर्ने योजना बनाएको मछिन्द्रले एसियाली कोटामा जापानका सुजुकी र दक्षिण एसियाली कोटामा चेन्चोलाई भित्र्याएको हो ।

एफसी खुमलटार:

अभिषेक वर्मा- भारत
स्टेफन समिर बिनोङ- क्यामरुन
मेसोके ओलोमोउ- क्यामरुन
सनविल डी कोस्टा- भारत
थिओफिलस अपो- घाना

उपाधि जित्ने योजना बनाएको नवप्रवेशी खुमलटारले नेपालका युवा खेलाडीलाई चर्चित विदेशीको साथ मिलाएको थियो । यसअघिको लिग र एनएसएलमा उत्कृष्ट प्रदर्शन गरेका दुई क्यामरुनी मेसोके र स्टेफन बिनोङलाई अनुबन्ध गर्यो। मेसोकेले १० खेलमा ७ र उत्तिकै खेलमा स्टेफनले २ गोल गरेका छन् । खुमलटारको टोलीमा छिमेकी भारतका दुई तथा घानाका एक खेलाडी छन् । तर, खुमलटारले च्याम्पियन बन्ने शैली भने अझै भेट्टाउन सकेको छैन । दसौं चरणसम्म आइपुग्दा तालिकामा १० अंक जोड्दै टोली दसौं स्थानमा छ ।

एपिएफ क्लब:

युया कुरियामा- जापान
अर्मान्ड बेओडम- चाड 
अब्दोउ रमानीपौटौग्नीग्नी- क्यामरुन
एडामा डाम्बिया- माली

सशस्त्र प्रहरी बलको एपिएफ विदेशी खेलाडी भित्र्याउने पहिलो विभागीय क्लब हो । २०७८ सालको लिगमा एपिएफले जापानका गोलकिपर कुरियामा, मालीका रक्षक एडामा र चाडका फरवार्ड अर्मान्डलाई अनुबन्ध गर्दै रेलिगेसन टारेको थियो । यसपालि पनि तिनै खेलाडीलाई एपिएफले पहिलो खेलबाट नै समावेश गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पछिल्लो खेल (मछिन्द्रविरुद्ध) अर्का मिडफिल्डर अब्दोउलाई पनि अनुबन्ध गरेको छ । एपिएफ दसौं चरणसम्म १४ अंक जोड्दै आठौं स्थानमा छ ।

फ्रेन्ड्स क्लब:

अख्रोरबेक उप्तामोभ- उज्वेकिस्तान
बेन नास- घाना   
रफिक अमिनु- घाना 
टोरिक जेब्रिन- घाना 
उत्तम राई- भारत

आठौं चरणसम्म रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्सलाई विदेशी खेलाडीले तत्काल यो संकटबाट पार लगाएका छन् । पछिल्ला दुवै खेलमा जित निकालेपछि फ्रेन्ड्स ११ अंकसहित १०औं स्थानमा उक्लिएको छ । उर्जन श्रेष्ठको प्रशिक्षणमा फ्रेन्ड्सले पाँचौं विदेशी खेलाडी अनुबन्ध गरेको छ । फ्रेन्ड्सका लागि घानाका राफिकले सर्वाधिक ५ गोल गरेका छन् । घानाकै जेब्रिनले ३ गोल गर्दा उज्वेकिस्तानका अख्रोरबेक २ गोल गर्न सफल भएका छन् ।

जावलाखेल युथ क्लब:

फोडे फोफाना- गुएना
एनकोटो मासोबी- लेसोथा
राहुल राहुल- भारत
अब्दुल माजिव समातेभ- घाना
अब्दुलाजी जनिशोन्बाइव- उज्वेकिस्तान

जावलाखेल सहिद स्मारक लिग इतिहासकै आफ्नो उच्च लयमा छ । दसौं चरणसम्म क्लब शीर्षस्थानमा रहन सफल भएको छ । विदेशी खेलाडीको प्रभाव जावलाखेलको नतिजामा देखिन्छ । टोलीले कोटाअनुसार सबै पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । मासोबीले ६ खेलमा ७ गोल गरेका छन् । समग्रमा ८ गोल गर्दै लेसोथाका यी फरवार्ड उच्च गोलकर्ताको दौडमा छन् । उनले पुलिस र मनाङविरुद्ध समान दुई गोल गरेका थिए । फोफानाले १० खेलमा ६ गोल गरेका छन् । मिडफिल्डबाट खेल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका उज्वेकिस्तानका २५ वर्षीय मिडफिल्डर अब्दुलाजीले दुई गोल पनि गरेका छन् । मिडफिल्डबाट आक्रमणसँगै उनले रक्षापंक्तिलाई पनि भरपर्दो साथ दिइरहेका छन् ।

नेपाल पुलिस क्लब:

मोसेज ग्याबा- घाना 
जोय आइडू- घाना
सर्जी डिक्का- क्यानरुन

रेलिगेसनको चर्काे दवाबमा आएपछि पुलिसले यसै सिजनमा पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गरेको हो । नेपाली खेलाडीबाटै ‘ए’ डिभिजनको हैसियत जोगिने आस गरेको पुलिस छैटौं चरणमा आएपछि परम्परा तोड्दै विदेशी खेलाडी अनुबन्ध गर्न बाध्य भएको थियो । पुलिसले छैटौं चरणमा घानाका मोसेज र जोयलाई अनुबन्ध गरेको थियो । दसौं चरणमा सर्जीलाई जोड्दै पुलिसले विदेशी खेलाडी संख्या ३ बनाएको छ । दुई विदेशी खेलाडीको आगमनसँगै पुलिसले पहिलो जित फ्रेन्ड्सविरुद्ध निकालेको थियो । दसौं चरणका खेल सकिँदा ५ अंकमा सीमित पुलिस पुछारमा छ ।

एनआरटी:

जेअन एनिसेट एमबोउमी- क्यामरुन
स्टेफन जुनियर- क्यामरुन
निकोलस सर्जी सङ- क्यानरुन
लाल गुन्जामा- भारत
शाभिष सिंह- भारत

पछिल्लो सिजन तेस्रो भएको एनआरटीले यसपालि उपाधि जित्ने योजना बनाएको थियो । तर, लगातारको खराब प्रदर्शनपछि टोलीको योजना अब हैसियत जोगाउनेमा झरेको छ । अधिकांश युवा खेलाडीको भर परेको टोलीले त्यसमा विदेशी खेलाडीको प्रदर्शन निर्णायक बनाउँदै सुखद नतिजा ल्याउने योजना बुनेको थियो । टिम व्यवस्थापनले सोचेजस्तो नतिजा भने आइरहेको छैन । अफ्रिकी खेलाडी चल्न नसक्दा एनआरटीको सिंगो टोली नै तनावमा छ । नेपाली खेलाडी सञ्जीव विष्टले सर्वाधिक ३ गोल गरेका छन् ।

थ्री स्टार क्लब:

टाहा मोहम्मद (गोलकिपर)- लेबनान
पिटर सेगुन- नाइजेरिया
मार्टिन्स कयोडे अजयी- नाइजेरिया
सिफामान्डला सेलो माथिन्ज्वा- दक्षिण अफ्रिका

तीन पटकको च्याम्पियन थ्री स्टार विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शन सँगै लयमा देखिन्छ । लिगको पूर्वसन्ध्यामा थ्री स्टारलाई रेलिगेसनबाट बच्न संघर्ष गर्ने टोलीका रूपमा हेरिएको थियो । तर, तमाम सोच बदल्दै उसले शीर्षस्थानका लागि प्रतिस्पर्धा गरिरहेको छ । चार विदेशीमात्र अनुबन्ध गरेको थ्रीस्टारले हालसम्म दक्षिण एसियाली कोटा साँचेर राखेको छ ।

चर्च ब्वाइज युनाइटेड:

प्रिसो एनजान्गा (गोलकिपर)- क्यामरुन
जोस्पे ओबुसु बेम्पाह- घाना
फ्रान्कलिन कुइटे टेला- क्यामरुन
गगनदीप सिंह- भारत
रन्जितसिंह पान्द्रे- भारत

चर्च ब्वाइलले लिगको पूर्वसन्ध्यामा विदेशी खेलाडी र नेपाली राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्दै उपाधि जित्ने योजना बनाएको थियो । तर, दिनेश राजवंशी, तेज तामाङ जस्ता खेलाडी अस्ट्रेलिया पुग्दा चर्च ब्वाइजको आस निराशामा बदलिएको छ । विदेशीले समेत ती दुई खेलाडीको स्थान लिन सकेका छैनन् । प्रशिक्षक प्रदीप हुमागाईंको बर्हिगमनपछि नेपाली फुटबलमा सर्वाधिक सफल प्रशिक्षक बालगोपाल महर्जनले टोली हेर्ने जिम्मा पाएका छन् । अब यिनै विदेशी खेलाडीबाट महर्जनले टोलीलाई पहिलो पल्ट ‘ए’ डिभिजन लिग उपाधि जिताउने योजना बनाएका छन् । चर्च ब्वाइजले विदेशी खेलाडीमा गोलकिपरदेखि रक्षापंक्तिमा ध्यान दिएको छ ।

हिमालयन शेर्पा क्लब:

म्यानुअल नाना आग्योमाङ- घाना
पिस्टोन मुताम्बा- केन्या
अबायोमी फाकुन्ले- नाइजेरिया
मोहम्मद केडोउ- लेबनान
सत्यम शर्मा- भारत

कोटाअनुसार पाँच विदेशी खेलाडी अनुबन्ध गरे पनि हिमालयन शेर्पाले आसलाग्दो प्रदर्शन गर्न सकेको छैन । दसौं चरणको खेल सकिँदा टोली रेलिगेसन क्षेत्रमा छ । हिमालयन शेर्पाले रेलिगेसन क्षेत्रबाट जोगिने योजनासहित ५ विदेशी खेलाडी अनुबन्ध गरेको थियो । सुमन श्रेष्ठको प्रशिक्षणमा हिमालयन शेर्पा मैदान उत्रिँदै आएको छ ।  

सातदोबाटो युवा क्लब:

अब्दुल लातिफ बदुबाकरी- घाना 
इभान मारिक- सर्बिया
विलियम ओपोकु असिइदु- घाना
सार्दाेरबेक मात्मुरातोभ- उज्वेकिस्तान

लिग सुरु हुँदा कागजमा सातदोबाटोलाई कमजोर मानिएको थियो । तर, लिग सुरु भएयता टोली लिगको शीर्ष तीनबाट तल झर्नुपरेको छैन । दशौं चरणको खेल सकिँदा तीन पटकभन्दा बढी सातदोबाटो शीर्षस्थानमा आसिन रह्यो । विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन जारी राख्दा सातदोबाटो उच्च लयमा छ । घानाको यु-२० टोलीबाट खेलिसकेका अब्दुल र विलियम तथा सर्बियाको यु-१७ टोलीबाट खेलेका इभानले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सार्दाेरबेकले आफ्नो प्रभाव देखाएका छन् । सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको सातदोबाटोले विदेशी खेलाडीकै प्रदर्शनमा लिगमा प्रभाव जमाइरहेको छ ।

संकटा क्लब:

आन्द्रे निअरी बियिक बियिक- क्यामरुन
जुनियर ओन्गुइने एककेन्गुई- क्यामरुन
नेल्सन युनिओ कोन्फोर- क्यामरुन
युसेफ अट्रिस- लेबनान
सन्दीप आले- भारत

संकटाले कोटाअनुसार सबै पाँच विदेशी खेलाडी अनबुन्ध गरे पनि भारतका सन्दीप आले फर्किएका छन् । अपेक्षाअनुसार प्रदर्शन नभएपछि क्लबले उनलाई फर्काएको हो । उपाधि जित्ने योजना बनाएको संकटा हाल १० खेलबाट १५ अंक जोड्दै सातौं स्थानमा छ । सल्यान खड्गीको प्रशिक्षण रहेको टोलीमा विदेशी खेलाडीको प्रदर्शन भने औसत छ ।