एसिसी प्रिमियर कप

सन्दीपले तोडे राशिदको कीर्तिमान

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गरेका छन् ।

एसिसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा १ विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय विकेट पूरा गरेका हुन् ।  

सन्दीपले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलको १३ औं ओभरको तेस्रो बलमा आदिल सफिकलाई एलबिडब्ल्युकाे सिकार बनाउँदै ४२ खेलमा याे उपलब्धी हात पारेका हुन् ।

यससँगै सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा गराएका छन् ।

यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो । खानले ४४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलमार्फत एकदविसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका सन्दीपले तीन पटक पाँचमाथि विकेट लिएका छन् । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट एक सय विकेट पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

सन्दीपले २०२१ सेप्टेम्बर १० मा पपुवा न्युगिनीविरुद्ध एकदिवसीय शृंखलाको दोस्रो खेलमा ५.१ ओभरमा ११ रन खर्चिदै ६ विकेट लिएका थिए । जुन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको उत्कृष्ट बलिङ प्रदर्शन हो ।