राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता

आर्मी र ललितपुर हाइलाई उपाधि

काठमाडौं । नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने ।

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७-६५ ले पराजित गर्यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे ।

पहिलो क्वाटरमा १०-८ को अग्रता लिएको आर्मी दोश्रोमा २५-२६ ले पछि पर्यो । बाँकी दुई क्वाटर आफ्नो पक्षमा पार्दै आर्मीले उपाधि सुनिश्चित गर्यो । आर्मीले तेश्रोमा २०-१३ र चौथोमा २२-१८ को प्रदर्शन गर्यो । उपाधिसंगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने रोयलले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।

महिलाको रोमाञ्चक उपाधि भिडन्तमा ललिपतुरले आयोजक नखिपोटलाई ३७-३५ को झीनो अन्तरले हरायो । ललितपुरकी अस्मिता थापाले १५ अंक जोडिन् ।

पहिलो क्वाटरमा ललितपुरले ९-८ को सामान्य अग्रता लियो । दोश्रो क्वाटरमा नखिपोटले ११-५ को अग्रता लिदै मध्यान्तरसम्म समग्रमा ५ अंकले अगाडि रह्यो । तेश्रो क्वाटरको खेलमा ललितपुरले १४-६ को प्रदर्शन गर्नु नै जितको मुख्य आधार बन्यो । चौथो क्वाटरमा नखिपोटले १०-९ को अग्रता हासिल गरेपनि समग्रमा २ अंकले उपाधि गुमायो । ललितपुरले ३० तथा नखिपोटले १५ हजार रुपैयाँ पुरस्कार पाए ।

पुरुषमा आर्मीका आयुश सिंह तथा महिलामा ललितपुरकी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार रुपैयाँ पुरस्कारसहित गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई प्रदेश सांसद राजकाजी महर्जन, नेपाल बास्केटबल संघका महासचिव नेरेन्द्र थापा, नखिपोट युथ क्लबका अध्यक्ष गंगा सुनवारलगायतले एक कार्यक्रमबीच पुस्कृत गरे । साताव्यापी प्रतियोगिताको पुरुषमा १२ तथा महिलामा ४ टिम सहभागी थिए ।