ज्ञान टाइगरलाई उपाधि

काठमाडौं । ज्ञान टाइगरले पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

फाइनलमा ज्ञान टाइगरले संस्कृतिलाई ५२–२२ ले सहजै पराजित गर्यो। ज्ञान टाइगरका धनराज सरु मगरले सर्वाधिक २० अंक जोडे । धनराजनै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

पहिलो क्वार्टरमा १२–९ को अग्रता बनाएको ज्ञान टाइगरले अन्तिमसम्म अग्रतालाई कायम राख्दै जित अन्तर फराकिलो बनायो । ज्ञान टाइगरले दोश्रोमा ८–२, तेश्रोमा २४–४ र चौथोमा ८–७ अंक जोड्यो ।

संस्कृतिका सुशांक अधिकारी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । उनले प्रतियोगिताभर ४२ स्कोर गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव रमेशकुमार सिलवाल, पाठशालाका प्रबन्ध निर्देशक टंक आचार्य, प्रमुख कार्यकारी अधिकृत इश्वर अधिकारी, प्रिन्सिपल विश्वनाथ कँडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।