किनवेन झेङ

फ्रेन्च ओपनबाट उदाएकी चीनिया टेनिस स्टार झेङ

कोभिड–१९ महामारी र पेङ सुई स्क्यान्डबाट घेरिएको चीनको टेनिसले फ्रेन्च ओपनमार्फत देशको उदीयमान स्टार रूपमा युवा खेलाडी किनवेन झेङलाई पाएको छ ।

१९ वर्षीया झेङले सन् २०२२ को फ्रेन्च ओपन च्याम्पियन सिमोना हालेपलाई दोस्रो चरणमा हराउँदै जारी फ्रेन्च ओपनमा सनसनी मच्याएकी छन् । उनै झेङले क्वार्टरफाइनल यात्राका लागि सोमबार विश्व नम्बर एक इगा स्वायटेकको सामना गर्दैछिन् । तेस्रो चरणमा भने झेङले तेस्रो चरणमा घरेलु प्रतिद्वन्द्वी एलिजे कर्नेटको चुनौती पार गरेकी थिइन् । झेङले पहिलो सेट ६–० ले आफ्नो बनाइन् । दोस्रो सेटमा ३–० ले पछि हुँदा कर्नेटले चोट बोकेपछि झेङ सहजै अर्को चरणको यात्रा तय गरेकी थिइन् ।

झेङले यसअघिका खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै सनसनी मच्चाइरहेकी थिइन् । झेङ ६ वर्षको हुँदा उनको बुबाले उनलाई हरेक खेल खेल्न प्रोत्साहित गर्थे । झेङले टेनिसमा करियर सुरु गर्नुअघि बास्केटबल र ब्याडमिन्टनलाई रोजेकी थिइन् । आठ वर्षको उमेरमा उनले टेनिसमा विशेष प्रशिक्षण लिने अवसर पनि पाइन् । जसको कारणले उनले चीनको हुबेइ प्रदेशस्थित सियानमा रहेको आफ्नो परिवार छाड्नु पर्यो । त्यसपछि फ्रेन्च ओपन च्याम्पियन ली नाको गृह क्षेत्र युहानमा रहेको एकेडेमीमा भर्ना भइन् । सो एकेडेमीमा उनले आफ्नो खेल करियर उकासिन् ।

फ्लोरिडामा एक जुनियर प्रतियोगिता खेल्ने क्रममा उनलाई अमेरिकाको एक प्रतिष्ठित कम्पनीले ११ वर्षकै उमेर सम्झौता गर्यो । उनी ‘ली ना जेनेरेसन’ को युवा खेलाडी हुन् । सन् २०११ मा फ्रेन्च ओपनको महिला सिंगल्समा ली च्याम्पियन हुँदा झेङ त्यतिबेला आठ वर्षकी थिइन् ।

झेङ २० पटक ग्रान्ड स्लाम च्याम्पियन रोजर फेडेररको हरेक खेलमा रमाउने गर्छिन् ।

‘म सानो हुँदा टिभी अगाडि बसेर फेडेररको खेल हेर्ने गरेको अभैm पनि ताजै छ । उनको हरेक सटमा म खुसी हुन्थें र त्यो सटले मलाई पनि प्रोत्साहित गथ्र्यो,’ झेङले भनेकी थिइन् ।

फेडेररलाई आफ्नो आदर्श मान्ने झेङले उनले प्रयोग गर्ने कम्पनीको र्याकेटबाट प्रतिस्पर्धा गर्दै आइरहेकी छन् ।

उनै झेङ पछिल्ला दुई वर्ष बार्सिलोनामा रहेर अभ्यास गर्दै आइरहेकी छन् । जहाँ उनलाई पूर्वखेलाडी पेरे रिबाले प्रशिक्षण गर्दैछिन् । स्पेनमा जानुअघि उनी बेइजिङमा रहेको इलाइट टेनिस एकेडेमीमा रहेर प्रशिक्षण गर्थिन् । त्यहाँ अर्जेन्टिनी प्रशिक्षक कार्लोस रोड्रिग्वेजले उनलाई प्रशिक्षण गर्थे । कार्लोस तीनै हुन् जसले ली ना र जस्टिन हेनिनसँगै काम गर्थे ।

चीनकै एक सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा उनले आफू लक्ष्यहरूको सपना देख्ने खेलाडी भएको प्रतिक्रिया दिएकी थिइन् ।

‘भविष्य कसैले पनि अनुमान गर्न सक्दैनन् र भूत पनि कहिल्यै परिवर्तन हुँदैन,’ तर, वर्तमान भनेको लक्ष्य या सपनालाई पूरा गर्नु हो ।’

उनी सन् २०२१ देखि डब्लुटिए वरीयता पछ्याइरहेकी छन् । यस क्रममा उनले ७९ खेलमध्ये ६० खेल जितेकी छन् । गत फेब्रुअरीमा मात्र उनले शीर्ष सयभित्र आफूलाई समावेश गर्न सफल भएकी थिइन् । फ्रेन्च ओपनपश्चात् भने उनले शीर्ष ७० भित्रको पुग्ने लक्ष्य राखेकी छन् ।