टिआइए कप बास्केटबल

टिआइए कप बास्केटबलः आयोजक टिआइए ‘बी’ विजयी

काठमाडौं । आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) ‘बी’ ले १५ औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार जित हात पारेको छ ।

हात्तीगौडास्थित घरेलु कोर्टमा टिआइए ‘बी’ ले हिमालयन बोर्डिङ स्कुललाई १४-११ ले पराजित गर्यो । टिआइए ‘बी’ की पेमा डोमा शेर्पाले चार अंक जोडिन् ।

सिनियर गर्ल्समै बसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले टिआइए ‘ए’ लाई १४-७, निम्सले स्किब्सलाई १६-६ र एनसिसीएसले मन्जरीलाई ३३-२ ले हराए । बिएनएकी स्मृति खत्रीले १४, निम्सकी टिना लिम्बुले ६ र एनसिसीएसकी ग्रिभा महर्जनले १३ स्कोर गरे ।

सिनियर ब्वाइजमा टिआइए ‘बी’ ले फ्युजन एकेडेमीलाई २४-१६ तथा विल्सन एकेडेमीले बिएमसीएलाई ४४-२५ ले हराए । टिआइए ‘बी’ का सार्थक धितालले नौ तथा विल्सनका रेहान डंगोलले १८ अंक बटुले ।