डिगबहादुर लिम्बु

संघिय सरकारले मात्र देश भरका खेल पूर्वाधार संरक्षण गर्न सक्दैनः मन्त्री लिम्बु

पोखरा । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुडिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा सरकारको मात्र लगानी रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको बताएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको उद्घाटनको क्रममा मन्त्री लिम्बुले सो कुरा बताएका हुन् ।

सरकारले खेल पूर्वाधारको निर्माणका लागि संघिय, प्रदेश, स्थानिय सरकार र निजी क्षेत्रको सहभागितामा प्रतिफल दिने गरी कामअघि बढाउने गरी आफूले समन्वय गरिरहेको बताए ।

संघिय सरकारले मात्रै देशभर रहेका खेल पूर्वाधारहरुको संरक्षण गर्न नसक्ने जनाउँदै मन्त्री लिम्बुले संघिय, प्रदेश र स्थानिय सरकारले कस्ता पूर्वाधारहरु जिम्मेवारी लिन सक्छ त्यसको पहिचान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अध्ययनका लागि निर्देशन दिएको बताए । उनले भने ‘सबैले जिम्मेवारीपूर्वक जवाफदेही ढङ्गबाट सुझाव दिन र प्रयाप्त मात्रामा खेल प्रशिक्षण स्थलहरुको निर्माण गरी तिनै तहको सरकारकाबीच समन्वय गर्ने गरी मन्त्रालय योजनावद्ध रुपमा अघि बढेको छ ।’

गण्डकी प्रदेशका सांसद प्रकाश बरालले कास्की टेनिसलाई सरकारले समेत उच्च प्राथमिकतामा राखी सम्मान गर्नु पर्ने जनाए ।

पुष १५ सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २ सय ३ गरी २सय १६  खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारत, बेलायत र बंगालादेशका खेलाडीको पनि सहभागिता रहने उपाध्यक्ष चालिसेले जानकारी दिए । 

प्रतियोगिता अन्तर्गत मेन्स तथा वुमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी १२ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ओपन मेन्स तथा वुमेन्स सिंगल्सतर्फका विजेताले जनही ८० हजार र उपविजेताले नगद ४० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमिफाइनलिस्टले १० हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा वुमेन्स डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार रुपैयाँ सहित ट्रफी र सेमिफाइनलिस्टले नगद १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको विजेतालाई ६० हजार, उपविजेतालाई ३० हजार रुपैयाँसहित ट्रफी तथा मेडल तथा सेमिफाइनलिस्टलाई १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।  डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दामाथीको सिंगल्सका विजेतालाई ४० हजार, उपविजेतालाई २० हजार र सेमिफाइनलिस्टलाई १० हजार रुपैयाँका साथ ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फका विजेताले २० हजार, उपविजेताले नगद १० हजार तथा सेमिफाइनलिस्टले  १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनलिस्टले १० हजार रुपैयासहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र सेमिफाइनलिस्टलाई १० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

६५ वर्ष माथीको सिंगल्सतर्फ विजेताले १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमिफाइनलिस्टले जनही २ हजार ५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा करिब १९ लाख  रुपैयाँ खर्च र २१ लाख  रुपैयाँ आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले जानकारी दिएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै करिब ८ लाख रुपैयाँ  खर्च हुने उनको भनाइ छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने जानकारी दिए ।

प्रतियोगिता निर्देशक राजन पौडेलका अनुसार प्रतियोगिता नेपालका नम्बर एक देखि आठ सम्मका खेलाडीहरु मैदानमा उत्रिने छन् । प्रतियोगितामा पहिलो चरणका खेलहरु सुरु भएका छन् ।