नेपाल सुपर लिग

रेफ्रीको निर्णय चित्त बुझेको छैनः प्रशिक्षक महर्जन

काठमाडौं । नेपाल सुपर लिगको  दोस्रो संस्करणको एलिमिनेटरमा ललितपुर सिटीसँग पराजित भएपछि साबिक विजेता काठमाडौं रेजर्सका प्रशिक्षक बालगोपाल महर्जनले रेफ्रीका निर्णयामा असन्तुष्टि जनाएका छन् ।

‘उपाधि रक्षा गर्ने लक्ष्य थियो । त्यसमा सफल हुन सकेनौं अक्सनबाटै अलिकती सन्तुलित टोली भएन । यहाँसम्म पुग्दा खुसी नै छु । राष्ट्रियस्तरको राम्रो खेलाडी भएन,’ महर्जनले भने,‘हाइ लेभलको खेल रेफ्रीको कारण हार्नुपर्यो । पहिलो गोल अफसाइड थियो। रेडकार्ड दिएकोमा पनि चित्त बुझेको छैन । अक्सनको बेलमा म चीनमा थिए । लिनै पर्ने बाध्यतामा गोलकिपर लिनुपर्यो । खेलाडीलाई पनि धेरै विश्राम भएन । यो नतिजा स्विकार गर्छु । ललितपुर आजको जितको हकदार थियो ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार सम्पन्न एलिमिनेटरमा ललितपुरले काठमाडौंलाई ३-० ले हराएको हो । ललितपुरको जितमा इमोन एजिकीलले दुई तथा पापा इबो केबेले एक गोल गरे ।

ललितपुरका प्रशिक्षक इयान गिलानले टोलीको लक्ष्य उपाधि जित्नु रहेको बताए ।

‘योजना अनुसारको प्रदर्शन भयो । मिडफिल्डमा सफल भयौ । युवा खेलाडीले पनि राम्रो खेलेका छन् । उनीहरुको भविष्य राम्रो छ । नेपाल फुटबलमा उनिहरुले राम्रो गर्न सक्छन्,’ गिलानले भने,‘हामीले धेरै गोल निकाल्ने प्रयास गर्यौ । खेलाडीमा जित्ने भावना छ। हामी उपाधी जित्ने लक्ष्यमा छौँ । हरेक खेल महत्त्वपूर्ण छ । कुनै खेल सहज हुने छैन ।’