समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता

यु-१९ राष्ट्रिय बास्केटबलः गोल्डेन गेट र बूढानीलकण्ठ च्याम्पियन

काठमाडौं । गोल्डेन गेट र बूढानीलकण्ठ समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । गोल्डेन गेट पुरुष तथा बूढानीलकण्ठ महिलामा च्यमम्पियन भए । 

बूढानीलकण्ठको पुरुष टोली फाइनल पुगेपनि उपाधि भने जित्न सकेन । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा गोल्डेन गेटले बूढानीलकण्ठलाई १००-८८ ले पराजित गर्यो । गोल्डेन गेटका नुकेश मगरले २८ स्कोर गरे ।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्धारा आयोजित प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बूढानीलकण्ठले आईएसए नेपाललाई २८-१८ ले हरायो । विजयी टिमका लागि रिन्चेन मोक्तानले १९ अंक जोडिन् । 

पुरुष/ महिला दुवैतर्फतको विजेताले ३० हजार तथा उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गरे । फाइनलका सर्वाधिक स्कोरकर्ता नुकेश र रिन्चेन ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार रुपैयाँका साथै  ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङ, आयोजक संघका महासचिव नरेन्द्र थापालगायतले पुरस्कृत गरे । पुस ३ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा २० तथा महिलामा पाँच टोली सहभागी थिए ।