नेपाल सुपर लिग

काठमाडौंमाथि सहज जित निकाल्दै ललितपुर क्वालिफायरमा, एनएसएलले नयाँ विजेता पाउने

काठमाडौं । साविक विजेता काठमाडौं रेजर्स एफसीमाथि सहज जित निकाल्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग(एनएसएल) को दोस्रो सिजनको  दोस्रो क्वालिफायरमामा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार सम्पन्न एलिमिनेटरमा ललितपुरले काठमाडौंलाई ३-० ले हराएको हो । ललितपुरको जितमा इमोन एजिकीलले दुई तथा पापा इबो केबेले एक गोल गरे ।

जितसँगै ललितपुरले क्वालिफायर्समा स्थान बनाएको हो । बिहीबार हुने दोस्रो क्वालिफायरमा ललितपुरले पोखरा थन्डर्सको सामना गर्नेछ । पोखराले सोमबार सम्पन्न पहिलो क्वालिफायरमा धनगढी एफसीविरुद्ध टाइब्रेकरमा ४-३ को हार ब्यहोरेको थियो । हारसँगै काठमाडौंको उपाधि रक्षा गर्ने लक्ष्यमा पुर्णविराम लागेको छ । यससँगै एनएसएलले नयाँ विजेता पाउने पक्का भएको हो ।

खेलको पाँचौं मिनेटमा काठमाडौंका सुशीलकुमार यादवको क्रस मार्की खेलाडी हिसुब थपलियासम्म पुग्न नपाउँदै ललितपुरका अश्विन घोरासैनीले क्लियर गरिदिए ।

११ औं मिनेटमा ललितपुरले गोलको पहिलो अवसर सृजना गर्यो । तर, दीनेश हेन्जजको प्रहारले पोस्टको दिशा लिन नसक्दा ललितपुरले अग्रता लिन सकेन । काठमाडौंका किङ्गे जुनियरको अनियन्त्रित बल खोस्दै इमोन एजिकीलले दिएको कट्ब्याक कुनै पनि निगरानीमा नरहेका दीनेशले सदुपयोग गर्न सकेनन् ।

खेलको ३६ औं मिनेटमा ललितपुरले गोल गर्यो । केबेको शक्तिशाली प्रहार काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले बचाए पनि नियन्त्रण गर्न नसक्दा एजिकीलले ट्याप इन गोल गरे ।

पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा काठमाडौंले सेटपीस अवसरमा गोल गर्न सकेन । शोखरुख एमको फितलो फ्रिकिक प्रहार ललितपुरका गोलकिपर जेफेरी विली मार्सेलले सहजै बचाए । अन्तिम मिनेटमा केबेले ललितपुरको अग्रतालाई दोब्बर बनाए । निखिल कदमको कर्नरलाई कप्तान अनन्त तामाङले हेडमार्फत पोस्टको दिशा दिन लाग्दा काठमाडौंका कुल्दीप कार्कीको टाउकोमा लाग्दै क्रस बारमा ठोक्किएको थियो । त्यही अवसरमा विपक्षी खेलाडीको अनियन्त्रित तालमेलको फाइदा उठाउँदै केबेले सहज गोल गरे ।

पहिलो हाफकै इन्जुरी समयमा दीपेश गुरुङको प्रहार गोलकिपर मार्सेलले नियन्त्रणमा लिए । त्यसको केही सेकेन्डमै एजिकीलले राइट साइडबाट पहिलो बारमा गरेको शक्तिशाली प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्यो ।

दोस्रो हाफको सुरुआती सात मिनेट भित्रै एजिकीलको व्यक्तिगत दोस्रो गोलमा ललितपुरले तीन गोलको अग्रता लियो । एजिकीलले कदमको सेटपीस क्रसमा सुन्दर हेड गोल गरे । उनको फ्रि हेडरले दोस्रो बारको जाली चुमेको थियो । यसअघि सनिस श्रेष्ठलाई काठमाडौंका कप्तान अन्जन राईले फउल गरेपछि ललितपुरले १९ यार्ड पर राइट साइडमा फ्रिकिक अवसर पाएको थियो ।

६२ औं मिनेटमा शोखरुखको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । ७४ औं मिनेटमा काठमाडौं १० खेलाडीमा झर्न पुग्यो । केबेलाई फउल गरेपछि कप्तान अन्जन दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए ।

जितसँगै ललितपुरले पहिलो सिजनको दोस्रो क्वालिफायरमा भोगेको हारको बदला समेत लिएको छ । गत संस्करण ललितपुरलाई ३-० कै नतिजाले पराजित गर्दै काठमाडौं फाइनल पुगेको थियो । ललितपुरविरुद्ध काठमाडौंको यो पहिलो हार हो । लगातार दुई सिजन, काठमाडौंले ललितपुरमाथि लिग चरणमा समान १-० को जित हासिल गरेको थियो ।