प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता

प्याब्सन मध्य क्षेत्रीय बास्केटबलः एसियन र श्रृजनशील सेमिफाइनलमा

काठमाडौं । एसियन पब्लिक र श्रृजनशील १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) को कोर्टमा एसियनले चैतन्यलाई ७-२ ले पराजित गर्यो । एसियनको जितमा सारिका बोहराले ३ अंक योगदान गरिन् । कुञ्जना मगरको ६ अंक सहयोगमा श्रृजनशीलले लिभरपुललाई १२-४ ले हरायो ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्समै काठमाडौं जेभियर्सले हेम्सलाई ९-८ तथा इनोभेटिभले सनसाइनलाई १९-१४ ले  हराए । काठमाडौं जेभियर्सकी दिप्रेन्जा बोहराले ६ तथा इनोभेटिभकी रिद्धि घर्ती मगरले १७ स्कोर गरे । सेमिफाइनलमा काठमाडौं जेभियर्सको भेट इनोभेटिभसँग हुनेछ भने एसियनले श्रृजनशीलको सामना गर्नेछ ।

सिनियर ब्वाइजमा एआइएले भद्रघलेलाई २७-१५, हेम्सले स्वप्नवाटिकालाई ३३-२०, काठमाडौं जेभियर्सले सूर्योदयलाई ३५-११ र सनसाइनले स्पाङगललाई ३०-१७ ले हराउँदै लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

एआइएका पर्वत पाण्डेले सात, हेम्सका आयुश कटुवालले १०, काठमाडौं जेभियर्सका रमितले १० र सनसाइनका सफल तामाङले १५ अंक बटुले । सेमिफाइनल हेम्स र सनसाइन तथा काठमाडौं जेभियर्स र एआएइबीच हुनेछ ।

जुनियर ब्वाइजमा एआईएले लिटिल फ्लावरलाई ८-६, काठमाडौं जेभियर्सले स्वप्नवाटिकालाई १७-१४, सनसाइनले स्पाङगललाई १६-११ र चैतन्यले इनोभेटिभलाई १५-१३ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । 

एआइएका आविस्कार बुढाले चार, काठमाडौं जेभियर्सका श्रीयानले पाँच, सनसाइनका ऋतिक गिरीले ६ र चैतन्यका एलिस तामाङले नौ अंक जोडे । सेमिफाइनलमा काठमाडौं जेभियर्सले चैतन्य तथा एआईएले सनसाइनविरुद्ध खेल्ने छन् ।