बुद्धिचाल

आरसिटी चेसः दोस्रो दिन समाप्त हुँदा चार खेलाडीलाई संयुक्तरुपमा अग्रता

काठमाडौं । अन्नपूर्ण क्लब (आरसिटी) को ९० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अन्नपूर्ण क्लब (आरसिटी) खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन बिहिबार चौंथौ चरणको खेल सम्पन्न हुँदा चार खेलाडीले संयुक्तरूपमा अग्रता लिएका छन्। 


फिडे मास्टर रुपेश जैशवाल, पुर्व  नेपाल च्याम्पियन सुरविर लामा, ललितपुरका युवा खेलाडी सरोज महर्जन र काभ्रेका खोम प्रसाद तिमिल्सिनाले चार अंककासाथ अग्रता लिएका हुन।

रुपेशले चौथो  चरणको खेलमा  चितवनका अर्जुन घिमिरेलाई पराजित गरे भने तेस्रो चरणमा काठमाडौका चिरन बजगाईलाई पन्छाउन सफल भए भने  सुरवीरले तेस्रो चरणको खेलमा आयुष बोहरालाई हराएका थिए । उनले चौथो चरणको खेलमा काठमाडौका दिपम महर्न माथी सफलता हात पारे।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सरोजले तेस्रो चरणमा सिराहका किर्तिकुमार गुप्तालाई र चौथो चरणको खेलमा ललितपुरका सानुभाई महर्जन माथी जित निकाले।  तेस्रो चरणको खेलमा काठमाडौका आषिश महर्जनलाई हराएका खोमले चौंथौ चरणको खेलमा भेट्रान खेलाडी जनार्दन श्रेष्ठ माथी बाजी मारे।

काठमाडौं अन्नपूर्ण क्लबको आयोजनामा ज्याठा स्थित अर्णपुर्ण उच्च माविको हलमा संचालन भएको प्रतियोगितामा  फिडे मास्टर क्षितिज भण्डारी, पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली , नविन तण्डुकार, ललितपुरका सजिन महर्जन , काठमाडौका सुमन लामा, भक्तपुरका गणेश दुवाल र तेह्रथुमका हरी सुब्बाले साढे तीन अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा छन्।


यसैगरी  तीन अंक प्राप्त गर्नेहरुमा नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं, पुण्यमान कर्माचार्य, लमजुङका सविन चन्द्र घिमिरे,प्युठानका श्रीकृष्ण श्रेष्ठ, काठमाडौका सीताराम अग्रवाल,  भगवती प्रसाद शर्मा, जनार्दन श्रेष्ठ, अर्जुन घिमपरे  छन्।