मोनालिशा खम्बु

मनोलिशा नेपालकै पहिलो महिला आइए

काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बु इन्टरनेसनल आर्बिटर (आइए) बन्ने पहिलो नेपाली महिला भएकी छन् ।

नेपाल बुद्धिचाल महासंघकी उपमहासचिव पनि रहेकी खम्बुलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को अप्रिल ८ देखि १३ सम्म भएको काउन्सिलको पूर्ण बैठकले आइए बनाउने निर्णय गरेको हो ।

खम्बुलाई फिडेको मान्यता प्राप्त चार प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको मापदण्ड पूरा गरेपछि काउन्सिल बैठकले आइए बनाउने निर्णय गरेको हो ।

सन् २०१३ मा फिडे आर्बिटर (एफए) भएकी खम्बुले फिडे वर्ल्ड  जुनियर चेस च्याम्पियनसिप २०१९ (नयाँ दिल्ली), एसियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ (काठमाडौं), ४४औं चेस ओलम्पियाड २०२२ (.चेन्ना)  र एसियन ओपन चेस टुर्नामेन्ट २०२३ (हेटौंडा) मा आर्बिटरको भूमिका निर्वाह गर्दै आइएको मापदण्ड पूरा गरेकी थिइन् ।

उनी चेसको महाकुम्भ ओलम्पियाडमा आर्बिटरको जिम्मेवारी निर्वाह गर्ने पहिलो नेपाली महिला हुन् । आइए विश्व बुद्धिचाल (चेस) मा रेफ्री/ निर्णायकका लागि सबभन्दा ठूलो टाइटल हो ।

विसं.२०६५ र २०७३ सालमा राष्ट्रिय च्याम्पियन भएकी खम्बुको नाममा सबभन्दा उच्च १८७७ फिडे रेटिङमा पुगेको नेपाली महिलाको रेकर्ड पनि छ ।

फिडे महिला आयोगकी सदस्य पनि रहेकी उनले दुई पछक एसियाली खेलकुद समान तीन पटक ओलम्पियाड तथा एसियन इन्डोर गेम्समा देशको प्रतिनिधित्व गर्दै खेलेकी थिइन् ।

उनले प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देष्यले दुई महिनाअघि मात्रै हिमालयन चेस एकेडेमी स्थापना गरेकी थिइन् ।  ।