इन्डियन प्रिमियर लिग

लखनउविरुद्ध कोलकाताको सहज जित

काठमाडौं । फिल साल्टको उत्कृष्ट प्रदर्शनप्रेरित कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार लखनउ सुपर जयान्ट्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

जितसँगै पाँच खेलबाट आठ अंक जोडेको कोलकाता दोस्रो स्थानमा छ । पराजित लखनउ ६ खेलबाट ६ अंकका साथ पाँचौं स्थानमा छ । 

इडेन गार्डेनमा लखनउले प्रस्तुत गरेको १६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो ।

कोलकाताका लागि फिलले ४७ बलमा १४ चौका र तीन छक्काको मद्दतले अविजित ८९ रनको योगदान गरे । यसैगरी कप्तान श्रेयस अय्यरले अविजित ३८ रन बनाए ।

तेस्रो विकेटका लागि फिल र अय्यरले अविजित १२० रनको साझेदारी गरे । लखनउका लागि दुवै विकेट मोसिस खानले लिए ।

त्यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६१ रनको योगफल तयार पार्यो ।

लखनउका लागि निकोलस पुरनले ४५,कप्तान केएल राहुलले ३९, आयुश बादोनीले २९ तथा क्विनटन डिकक र मार्कस स्टोइनिसले समान १० रन बनाए ।

कोलकाताका लागि मिचेल स्टार्चले तीन तथा वैभव अरोरा, सुनिल नारायण र अन्द्रे रसेलले समान एक विकेट लिए ।