सहिद स्मारक ‘सी’ डिभिजन लिग

झम्सिखेलको फराकिलो जित

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा झम्सिखेल युथ क्लबले गोलबजार स्पोर्टस क्लबविरुद्ध ४-० को फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा झम्सिखेललाई जित दिलाउन ओम धामी, सञ्जय रम्तेल, अजय वाइबा र विक्की महर्जनले गोल गरे ।

पहिलो जित निकालेको झम्सिखेलको दुई खेलमा तीन अंक छ । पराजित गोलबजारको समान खेलबाट एक अंक छ ।

पहिलो खेलमा झम्सिखेल स्पोर्टस एकेडेमी साँगासँग १-० ले पराजित हुँदा गोलबजार स्वयम्भु क्लबसँग २-२ को बराबरीमा रोकिएको थियो ।

खेलको ३२औं मिनेटमा ओमको गोलमार्फत झम्सिखेलले अग्रता लिएको थियो । चार मिनेटपछि नै सञ्जयले टोलीको अग्रता दोब्बर बनाए ।

अजले ४३औं मिनेटमा गोल गर्दा झम्सिखेलले पहिलो हाफमै ३-० को आरामदायी अग्रता बनायो । इन्जुरी समयमा विक्कीले थोल गर्दै झम्सिखेललाई ४-० को  जित दिलाए ।

आइतबार नै सम्पन्न अर्को खेलमा मनोहरा युनाइटेड  युथ क्लबले साँगामाथि ३-२ को रोमाञ्चक जित निकाल्यो ।