मोर्डन पाइथान गेम्स

मोर्डन पाइथान गेम्सः मुवाँथाइमा नेपाललाई चार स्वर्ण

महिला ४८ केजीमा स्वर्ण विजेता प्राप्ति बतास

काठमाडौं । भारतको नयाँ दिल्लीमा भएको मोर्डन पाइथान गेम्समा नेपाली मुवाँथाइ खेलाडीले बिहीबार चार स्वर्ण पदक जितेका छन् ।

प्रतियोगितामा नेपालबाट समान दुई पुरुष/ महिला गरी चार खेलाडी सहभागी भएकोमा सबैले स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका उपाध्यक्ष समेत रहेका टिम प्रशिक्षक राहुल मोक्तानले जनाएका छन् ।

पुरुष ६५ केजीमा मुकेश लुइटेल खत्रीले भारतका शिभान्स भार्गवलाई पराजित गरी स्वर्ण जिते । मुकेश भुटानमा भएको पाँचौं दक्षिण एसियाली किक बक्सिङ च्याम्पियनसिपका स्वर्ण पदक विजेता हुन् । पुरुष ६० केजीमा किशोर नेगीले भारतका विशाल सिंहलाई नकआउट आधारमा हराउदै स्वर्ण हात पारे ।

महिला ४८ केजीमा प्राप्ति बतासले भारतकी सताक्षी शुक्लालाई स्तब्ध बनाउँदै स्वर्ण चुमिन् । राष्ट्रिय च्याम्पियन प्राप्ति मलेसियामा सन् २०२२ मा भएको युथ विश्व च्याम्पियनसिपकी कांस्य पदक विजेता हुन् । प्राप्तिकी दिदी परिकाले ५१ केजीमा भारतकी दिब्यान्शीलाई हारउँदै स्वर्ण जितिन् ।