मेघराज पौडेल

खेलकर्मी पौडेललाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस

काठमाडौं । नेकपा एमालेको युवा तथा खेलकुद विभागका सचिव मेघराज पौडेललाई आगामी मंसिर चार गते हुने निर्वाचनमा ललितपुरबाट प्रदेश सभा सदस्य पदका लागि उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

महालक्ष्मी नगरपालिका–१ निवासी पौडेललाई ललितपुर क्षेत्र नम्बर दुई (क)बाट प्रत्यक्ष तर्फको सांसद पदमा उम्मेदवार बनाउन सम्बन्धित कमिटीले सिफारिस गरेका हुन् ।

२०४५ सालदेखि नै तत्कालिन अनेराश्ववियु (पाँचौं)बाट राजनीतिमा होमिएका पौडेल राष्ट्रिय साहसिक खेलकुद संघका अध्यक्ष पनि हुन् । नेकपा एमालेको खेलकुद भ्रातृ संगठन नेपाल खेलकुद महासंघका निवर्तमान महासचिव हुन् ।

नेपाल अटोमोबाइल्स स्पोर्टस एसोसिएसनका संस्थापक केन्द्रिय सदस्य पौडल एसोसिएसनका निर्वाचित सचिव हुन् । नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनका संस्थापक महासचिव पदमा १२ वर्षदेखि निरन्तर कार्यरत पौडेल पर्वतीय खेलकुद महासंघका संस्थापक कोषाध्यक्ष पनि हुन् ।

नेकपा एमाले तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फसेका बेला संस्थापन पक्षमा प्रतिबद्धताका साथ लागेका पौडेल नेकपाको तत्कालिन सरकारले राष्ट्रिय खेलकुद परिषदमा सदस्यसचिव नियुक्ति प्रक्रिया थाल्दा अन्तिमसम्म नेपाली खेलकुदको सर्वोच्च पदका लागि प्रतिस्पर्धामा थिए ।

‘पार्टीले विश्वास गरेर टिकट दिए जनताबाट अनुमोदित हुन्छु भन्ने विश्वास छ । त्यसपछि प्रदेश सभा सदस्यको हैसियतमा थप सक्रियताका साथ समाज रुपान्तरणको अभियानमा लाग्नेछु,’ पौडेलले खेलाडीसँग भने, ‘युवा र खेलकुद मेरो प्रिय क्षेत्र हो । यही क्षेत्रबाट म समग्र देश विकासको अभियानमा समर्पित हुनेछु ।’