एन्फा

सी डिभिजनका पाँच क्लबको पुनरावेदनमा अपील

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सहभागी पाँच क्लबले आगामी साधारणसभाको प्रतिनिधि छनोटको विषयमा असन्तुष्टि जनाउँदै पुनरावेदन कमिटिमा अपील गरेका छन् ।

आगामी १२ असोजमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभामा प्रतिनिधि छनोट प्रक्रियागत नभएको भन्दै सहभागी पाँच क्लब स्पोर्टस् एकेडेमी साँगा, रानीवन स्पोर्टस् क्लब, स्वयम्भु क्लब, समाज कल्याण खेलकुद केन्द्र र सानेपा क्लब पुनरावेदन पुगेका हुन् । पाँचै क्लबका अध्यक्षले हस्ताक्षर सहित एन्फा विधान, नियम, निर्देशिका विपरित र त्रुटिपूर्ण रहेको जनाउँदै पुनरावेदनमा अपील गरेका हुन् ।

अब हुने साधारणसभाले दुई केन्द्रिय सदस्य समेत चयन गर्नेछ । गत असार ६ मा भएको चुनावी साधारणसभामा चार सदस्यको समान मत आएपछि सो चारको चुनाव अर्को साधारणसभामा हुने बताइएको थियो । सदस्यका उम्मेदवार रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, दीपक थापाक्षेत्री र  दिपेन्द्र धिमालको समान ३९ मत आएपछि दुई केन्द्रिय सदस्यको टुंगो लाग्न बाँकी थियो ।

तर, सी डिभिजनका प्रतिनिधि आफू अनुकूल नभएको भन्दै नेतृत्वले प्रक्रिया मिचेको पाँच क्लबले आरोप लगाएका छन् । एन्फाले भदौ १४ गते प्रतिनिधि छनोटकार्य रद्द गर्न क्लबलाई पत्र पठाएको थियो । यस अघि ६ असारमा पंकजविक्रम नेम्बाङ पक्ष विजयी हुँदै चार वर्षे कार्यकाल हाँक्न एन्फा आएको छ ।