नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदः स्वर्ण पदक जित्नेलाई बागमती प्रदेशले मासिक ६ हजार भत्ता दिने

काठमाडौं । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले आसन्न नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने आफ्ना खेलाडीलाई मासिक ६ हजार प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ ।

नवौं राष्ट्रिय खेलकुदमा समावेश हुने फुटबल, क्रिकेट, एथ्लेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, भलिबल, ब्याड्मिन्टन, भलिबल, पौडी खेलबाट स्वर्ण जित्ने खेलाडीले मात्रै त्यो सुविधा पाउने बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत घोषणा गरे ।

‘हामीले सुरुआत गरेका हौं, अर्को राष्ट्रिय खेलकुद हुने समयसम्ममा सबै खेलमा यो लागू हुने आस गरेका छौं,’ बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले भने, ‘स्वर्णबाहेक अन्य पदक विजेतालाई पनि बिस्तारै समेट्ने र राज्यलाई पनि खेलकुदमा लगानी गर्नुपर्छ भनेर सुरु गरेका हौं ।’

यस्तै, बागमती प्रदेशले राष्ट्रिय खेलकुदका सबै ३६ वटै खेलमा सहभागी हुने र सहभागिता जनाउने सबै खेलाडीहरुलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने र यसको सबै व्यवस्थापन पूरा भइसकेको समेत जनाएको छ ।

परिषद्ले भदौ २० गतेभित्र खेलकुदका लागि प्रदेश खेलाडी छनोट गर्ने र राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुरुप २५ गतेसम्म खेलाडी विवरण पठाइसक्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

बागमती प्रदेशले खेलाडी छनोट र प्रतियोगिताको सहभागितामा करिब ९ करोड ४४ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको र पाँच करोड विनियोजन भइसक्दा ४९ लाख निकासा भइसकेको जनाए ।

यस्तै, नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट फुल कोटामा सात सय नौ जना खेलाडी सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिए ।