नेपालको केन्या भ्रमण

केन्याले नेपाललाई दियो १३३ रनको लक्ष्य

नौरबी । केन्याविरुद्धको ट्वान्टी २० शृंखलाअन्तर्गत दोस्रो ट्वान्टी २० खेलमा घरेलु टिमले नेपालसामू एक सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३२ रनको योगफल तयार पार्यो ।

केन्याका रकेप पटेलले सर्वाधिक ३५ रन बनाए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, नेहेमिह ओधिएम्बोले २९,  इर्फान करिमले २२ र सचिन भुडियाले १४ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले र दीपेन्द्रसिंह ऐरीले समान तीन विकेट लिए । यसबाहेक, करण केसीले दुई र पवन सर्राफले एक विकेट लिए ।

नेपालले केन्यासँग पाँच खेलको ट्वान्टी २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।
यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो  ।
नेपाल र केन्याबीचको ट्वान्टी २० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् ।