एसियन गेम्स

ओलम्पिक कमिटी र ‘बाई–अप’ बीच प्रायोजन सम्झौता

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ‘बाई–अप होल्डिङ कम्पनी’ सँग चीनमा हुने आगामी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिमका लागि खेल पोशाकको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।

चीनको हाङचाउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ र हङकङ–चीनको बाई–अपका सिओओ स्टेवार्ड छ्यङ्गले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बाई–अपले एसियाली खेलकुदमा सहभागी हुने सम्पूर्ण टिमका सदस्यलाई खेल पोशाक प्रदान गर्नेछ । खेल पोशाकमा ट्रायकसुट, टी–सर्ट, पोलो टी–सर्ट, स्पोर्टस सुज, सट्स, मोजा, टोपी, झोला र रुमाल पर्छन् । सम्झौता अनुसार एसियाली खेवकुद सुरु हुन अगाडि ४ सय ५० थान खेल पोशक हस्तान्तर गर्नेछ । यसै कम्पनीले सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदका बेला पनि खेल पोशाक प्रदान गरेको थियो ।

त्यस अवसरमा महासचिव श्रेष्ठले प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टिमको एकै ढाँचाको डिजाइन हुने बताए । उनले बाई–अप कम्पनीसँगको सम्झौता अबका वर्षमा पनि कायम हुने विश्वास पनि पोख्नु हुँदै उच्च गुणस्तरको पोशाकको प्रायोजनले नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनमा सहयोग पुग्ने पनि बताए । त्यस्तै बाई–अपका सिओओ छ्यङ्गले एसियाली खेलकुदमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गरे ।