भारतीय फुटबल

फिफाको निलम्बनः भारतीय सर्वोच्च अदालतद्वारा तीन सदस्यीय कमिटि भंग

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले सोमबार भारतीय फुटबल संघ (एआइएफएफ) को नियन्त्रण पुनः यसको प्रशासनलाई फिर्ता दिएको छ ।

यसअघि निर्धारित समयमा निर्वाचन हुन नसकेपछि सर्वोच्च अदालतले एआइएफएफको नियन्त्रण तीन सदस्यीय कमिटिलाई दिएको थियो । र, यसै कमिटिलाई अगस्टको अन्त्यसम्म निर्वाचत गराउने जिम्मा दिएको थियो । यद्यपि, गत हप्ता फिफाले ‘तेस्रो पक्षको हस्तक्षेप’ भएको भन्दै तत्काल लागू हुने गरी एआइएफएफलाई निलम्बन गरेको थियो । जसको प्रत्यक्ष असर अर्को महिना भारतमा हुने तालिका रहेको यु १७ महिला विश्वकपमा समेत परेको छ ।

सोमबार सर्वोच्च अदालतले तीन सदस्यीय कमिटिलाई खारेज गर्दै एआइएफएफ सञ्चालनको अधिकार संघका महासचिव सुनन्दो धरलाई दिइएको छ । यसले फिफाको निलम्बन चाडो हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

सर्वोच्च अदालतले मे महिनामा १८ महिनादेखि निर्वाचन नगराएको भन्दै अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाउने निर्णय गरेको थियो ।

यु १७ महिला विश्वकप आगामी ११ देखि ३० अक्टोबरसम्म हुने तालिका छ । प्रतियोगिताको पहिलो दिन चार खेल हुने तय भएको छ । जसमा भारतले पहिलो दिन संयुक्त राज्य अमेरिकाको सामना गर्ने तालिका छ ।