टिटी

केकेएम-एनआरटी टेबल टेनिस असोजमा

काठमाडौं । केकेएम-एनआरटी खुल्ला टेबल टेनिस असोज ४ गतेदेखि ८ गतेसम्म हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक काठमाडौं खेल मण्डल (केकेएम) न्यरोड टिम (एनआरटी) ले सबै खेल लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने जानकारी दियो ।

प्रतियोगितामा नेपाल राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलाडी तथा विदेशी खेलाडीको समेत सहभागिता रहने आयोजकले जानकारी दियो । सिङ्गल्सतर्फका खेलहरु लिगकम नकआउट र टिम इभेन्ट्स नकआउट ढाँचामा हुनेछन् ।

क्वाटरफाइनलसम्मका खेलहरु बेस्ट अफ ५ र फाइनल बेस्ट अफ ७ को आधारमा खेलाउने आयोजकको तयारी छ ।

पुरुष एकल, महिला एकल, जुनियर ब्वाइज यू-१९, जुनियर गर्ल्स यू-१९, क्याडेट ब्वाइज एकल यू-१५, क्याडेट गर्ल्स यू-१५, पुरुष भेट्रान्स एकल ६० वर्षमाथि, पुरुष भेट्रान्स एकल ५० वर्षमाथि, पुरुष भेट्रान्स एकल ४० वर्षमाथि, महिला भेट्रान्स एकल ४० वर्षमाथि र पुरुष भेट्रान्स टिम ४० वर्षमाथि गरी ११ वटा इभेन्ट्समा स्पर्धा हुनेछ ।

पुरुष/महिला एकलतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १०/१० हजार पाउने छन् ।

जुनियर ब्वाइज यू-१९, जुनियर गर्ल्स यू-१९, क्याडेट ब्वाइज एकल यू-१५ र  क्याडेट गर्ल्स यू-१५ तर्फको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रोले २५ सय पाउने आयोजकले बताएको छ ।