अन्य

चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीका अभिमुखिकरण कार्यक्रम सुरु

काठमाडौं । नेपाल बुद्धिचाल संघले भारतको चेन्नईमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीका अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ ।

संघको आयोजनामा सोमबार काठमाडौंको ठमेल पार्क होटलमा सुरु भएको कार्यक्रममा ओलम्पियाड टोलीका खेलाडी तथा अफिसियलहरुको सहभागीता रहेको छ । मंगलबार सम्पन्न हुने दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिमेशन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतिमाथि छलफल हुने संघले जनाएको छ ।  

कार्यक्रमको पहिलो दिन मनोविद डा. नरेन्द« ठगुन्ना, नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम, उपाध्यक्ष नारायणदास गमाल, महासचिव धरम बहादुर लामा तथा सचिव उमेश केसीले विभिन्न विषयमा आ–आफ्नो धारणा राखेका थिए् । 

कार्यक्रमको दोस्रो दिन आज पूर्व नेसनल च्याम्पियन एवं ओलम्पियाड खेलाडीद्धय सुरवीर लामा तथा केशव श्रेष्ठ लगायतले अनुभव बाँड्ने कार्यक्रम रहेको छ ।

आगामी जुलाईको २८ तारिखमा उद्घाट्न भई अगस्ट ९ मा सम्पन्न हुने ओलम्पियाडको पुरुषतर्फको टिममा वर्तमान नेसनल च्याम्पियन पुरुषोतम चौंलागाईं सहित फिडेमास्टरद्धय रुपेश जयसवाल तथा क्षितीज भण्डारी एवं क्यान्डिडेटमास्टरद्धय विवेक थिङ तथा मिलन लामा रहेका छन् । 

त्यसैगरी महिलातर्फ नेसनल च्याम्पियन सुजना लोहनी सहित कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति थिङ रहेका छन् । सहभागी खेलाडी मध्ये रुपेशले २०१२(रसिया) एवं २०१८(जर्जिया) को अनुभव संगाली सकेका छन् भने सुजनासँग २०१६(अवरवैजान) तथा २०१८(जर्जिया) को अनुभव रहेको छ । त्यस्तै क्षितिज भण्डारी २०१६(अजरवैजान) तथा विवेक २०१८(जर्जिया) ओलम्पियाडमा सहभागी भएका छन् । अन्य खेलाडीको हकमा चेन्नाई ओलम्पियाड नयाँ अनुभव हुने संघले जनाएको छ ।