इङ्लिस प्रिमियर लिग

प्रशिक्षक टेन हागलाई भेट्दै रोनाल्डो

लन्डन । ओल्ड ट्राफोर्ड भविष्यका बारेमा दुबिधा बढिरहँदा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले मंगलबार प्रशिक्षक एरिक टेन हागसँग भेट्ने भएका छन् ।

व्यक्तिगत समस्या देखाउँदै युनाइटेडको थाइल्यान्ड र अस्ट्रेलियाको भ्रमणमा सहभागी नभएका रोनाल्डो सरुवा बजार बन्द हुनु अगावै क्लबले आफूलाई फुकुवा गरिदियोस् भन्ने चाहन्छन् । 

रोनाल्डो अझै क्लब प्रशिक्षणमा फर्किएका छैनन । यसअघि टेन हागले रोनाल्डोलाई बेच्ने योजना नरहेको बताएका थिए । 

रोनाल्डो गत सिजन युभेन्टसबाट ओल्ड ट्राफोर्ड फर्किएका थिए । टेन हागले प्रि-सिजन भ्रमण अघि भने रोनाल्डोसँग छलफल गरेका थिए । 

‘मैले भ्रमण अघि रोनाल्डोसँग छलफल गरेको थिए । हाम्रो छलफल सकारात्मक थियो’, रोनाल्डोले भने ।

युनाइटेड प्रि-सिजन भ्रमणबाट फर्किए पनि रोनाल्डो टोलीको प्रशिक्षाण्मा सहभागी भएका छैनन । उनी हाल पोर्चुगलको राष्ट्रिय टोलीमा प्रशिक्षण गरिरहेका छन् । गत सिजन उनी युनाइटेडका लागि शीर्ष गोलकर्ता समेत रहेका थिए ।

युनाइटेडले छैटौं स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो । जसका कारण युनाइटेडले च्यापिम्यन्स लिग खेल्ने अवसर गुमायो । त्यसैले पनि रोनाल्डो कम्तीमा  एक सिजन लोनमै भए पनि युनाइटेड छोड्न चाहन्छन् । उनी नयाँ क्लबबाट च्याम्पियन्स लिग खेल्न चाहन्छन् ।

पाँच पटकका बालन डी’ अर विजेता रोनाल्डोले करियरको यो चरणमा धेरै राम्रो विकल्पहरु उपलब्ध हुनुपर्ने महसुस गर्छन् ।

युनाइटेडले घरेलु मैदानमा अगस्ट ७ मा ब्राइटनसँग खेल्दै प्रिमियर यात्राको थालनी गर्नेछ ।