स्पेनिस ला लिगा

लेवान्डोस्कीले लय कायम राख्ने जाभीको विश्वास

मड्रिड । बार्सिलोनाका मुख्य प्रशिक्षक जाभीले यसै सिजन टोलीमा अनुबन्ध भएका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीको आगमन टोलीका लागि अविश्वसनीय सम्झौता भएको बताएका छन्  ।

शनिबार लस भेगसमा रियाल मड्रिडविरुद्धको मैत्रीपूर्ण खेलसँगै लेवान्डोवस्कीले बार्सिलोनाबाट डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै प्रभावशाली प्रदर्शन गरेका थिए । सो खेलमा बार्सिलोनाले १–० ले जितेको थियो ।

लेवान्डोवस्की जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखमा आठ वर्ष बिताएर क्याम्प नोउमा भित्रिएका थिए । बायर्नबाट उनले लगातार सात पटक बुन्डेसलिगाको उपाधि जितेका थिए । गत सिजन उनले बायर्नका लागि  ४० गोल गरेका थिए । बार्सिलोना लेवान्डोवस्कीको गोल लयले निरन्तरता पाउनेमा विश्वस्त छ ।

‘लेवान्डोवस्कीले धेरै राम्रो खेले,’ जाभीले भने, ‘उनी नम्र छन् । विश्व फुटबलमा उनले प्राय सबै खेल जितेका छन् । टिमको लागि धेरै परिश्रम गर्छन् र हाम्रो लागि उनी महत्वपूर्ण खेलाडी बन्न सक्छन् । टिममा लेवान्डोवस्कीलाई पाउँदा धेरै खुशी छु ।’

‘रियालले दबाब बढाइरहेको अवस्थामा लेवान्डोवस्कीले बललाई नियन्त्रण गरे । अट्याकिङ मिडफिल्डर र डिफेन्सिभ मिडफिल्डर खेलाए । उनी विश्व फुटबलका उत्कृष्ट खेलाडी हुन्,’ उनले भने ।