राखेप

प्रारम्भिक चरणको बन्द प्रशिक्षण सकियो

काठमाडौं । १९औं एसियाली खेलकुदका लागि रहेको महिला भलिबल टोलीसहित २३ खेलको प्रारम्भिक चरणको बन्द प्रशिक्षण आइतबारदेखि सकिएको छ । 

चीनमा हुने १९औं एसियाली खेलकुद र आगामी दक्षिण एसियाली खेलकुद (साग) को लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो चरणमा २३ खेलको विशेष प्रशिक्षण सुरु गरेको थियो ।

जेठ २४ गतेदेखि सुरु भएको प्रशिक्षण असार ३२ सम्म संचालन भएको थियो । राखेपले एसियाडका लागि र साग गेम्समा पदक सम्भावना भएका खेलहरुका लागि  विशेष प्रशिक्षण सुरु गरेको थियो । 

जसअन्तर्गत तेक्वान्दो,कराते,बक्सिङ,एथलेटिक्स,साइक्लिङ,फुटबल, गल्फ,जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती , भारोत्तोलन , आर्चरी ,बास्केटबल , फेन्सिङ, ह्यान्डबल, कबड्डी ,टेबलटेनिस . भलिबल ,ब्याडमिन्टन, क्रिकेट ,सुटिङको प्रशिक्षण सुरु भएको थियो ।

यही वर्ष चीनमा आयोजना हुने भनिए पनि कोभिड १९ महामारीका कारण स्थगित भएको प्रतियोगिताको लागि राखेपले २३ खेलमा सहभागिता जनाउने बताएको थियो । त्यसैअन्तर्गत सबै खेलहरुको प्रशिक्षण सुरु भएको हो । स्थगित प्रतियोगिताको नयाँ मिति सार्वजनिक हालसम्म नभए पनि राखेपले तयारी स्वरुप खेलहरुको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय लिएको हो ।

राष्ट्रिय टिम तयारी संयोजक महेन्द्र राईले तोकिएको ४० दिनको प्रशिक्षण सकिएको बताए ।

‘राखेपले पहिलो चरणका लागि दिएको ४० दिन सकिएकाले २३ खेलकै प्रशिक्षण रोकिएको छ । प्राय खेलहरुले पहिलो चरणको छनोट पनि सकेका छन्,’ उनले खेलाडीसँग भने, ‘हामी यहीं साताभित्रै बैठक बस्नेछौ  र दोस्रो चरणको प्रशिक्षणको लागि मिति गय गर्नेछौ ।’

(यसअघि प्रकाशित समाचारमा ‘आर्थिक समस्याका कारण भलिबल प्रशिक्षण बन्द’ हुन गएकोमा सच्चाइएको छ ।)