राष्ट्रपति रनिङ शिल्ड

केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

काठमाडौं । १२औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेश एक र मधेश प्रदेशबाहेक पाँच प्रदेशको सहभागिता छ ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा गरी पाँच सय खेलाडीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । यस्तै, एथलेटिक्समा २६, करातेमा ८, तेक्वान्दो र उसुमा ६-६, भलिबल र कबड्डीमा २-२ गरी कुल ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटनमा विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बताए ।

यसै कार्यक्रमकाबीच जुडोकी ओलम्पियन सोनिया भट्टले उद्घाटन स्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा ओलम्पिक टर्च परिक्रमा गराइन् । राष्ट्रपति रनिङ शिल्ड खेलकुदको कुनैपनि उद्घाटन कार्यक्रममा ओलम्पिक टर्च परिक्रमा गराइएको पहिलो हो ।

प्रतियोगिताको शीर्ष तीन स्थान हासिल गर्ने टिम र व्यक्तिगत विधातर्फ गरी कुल ९ लाख ४५ हजार रुपैयाँ पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ ।