राष्ट्रपति रनिङ शिल्ड

बागलुङले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

पोखरा । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ जिल्लाले जितेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्य पदकसहित रनिङ शिल्ड हात पार्यो । यस्तै, नवलपुरले ९ स्वर्ण, ६ रजतका साथ दोस्रो तथा स्याङ्जा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भए ।

उपाधिसँगै बागलुङले रनिङ शिल्डसहित नगद ३० हजार, दोस्रो हुने नवलपुरले नगद २० हजार र तेस्रोको स्याङ्जाले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगिताबाट राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्डका लागि विभिन्न ६ खेलका १ सय ११ जना खेलाडी छनोट गरिएको छ । उनीहरुलाई दुई दिनसम्म पोखरामा बन्द प्रशिक्षणमा राखिने उनीहरु यही असार २७ गते काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सदस्यसचिव गुरुङले जानकारी दिए । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही असार २८ देखि ३० गते सम्म काठमाडौमा सञ्चालन हुनेछ ।