नवौं राष्ट्रिय खेलकुद

राष्ट्रिय खेलकुद प्रतियोगिता मुल आयोजक कमिटीको महत्वपूर्ण आठ निर्णय पारित

काठमाडौं । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक कमिटिको पहिलो बैठकले आठ मुख्य निर्णय गरेको छ ।

गण्डकी प्रदेशको पोखरामा हुने प्रतियोगिताको तयारी स्वरुप मन्त्री महेश्वरजंग गहतराजले शुक्रबार मुल आयोजक समितिको पहिलो बैठकले प्रतियोगिता सम्बन्धित विभिन्न आठ निर्णय गरेको हो ।

मन्त्री गहतराजको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पेश गरेका विभिन्न प्रस्ताव सर्वसम्मतले पास गरेको हो । जसअन्तर्गत प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने, विभिन्न ३६ वटा विधामा प्रतियोगिता संचालन गर्ने, प्रतियोगिता संचालन तथा व्यवस्थापनका लागि कार्यकारी समिती गठन गर्ने, १४ वटा उपसमिती गठन गर्ने लगाएतका निर्णयहरु रहेका छन् ।

बैठकमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, सातवटै प्रदेश खेलकुद परिषदका सदस्य सचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा ३ वटा विभागीय टिम र एनआरएनका प्रतिनिधिको सहभागिता थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन समेत गरी ११ टिमले सहभागिता जनाउने छन ।

पहिलो बैठकका मुख्य निर्णयहरुः

१) आगामी असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने ।

२) प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्यसचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने ।

३) प्रतियोगिताका लागि १४ वटा उपसमिती गठन गर्ने ।

४) प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।

५) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिस्पर्धा गराउने ।

६) नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लागू हुने गरी मुख्य ट्रफी निर्माण गरिने । र उक्त ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टूरमा लैजाने ।

७) लगातार तिन वटा प्रतियोगिता विजेतालाई ट्रफि प्रदान गरिने ।

८) प्रतियोगिताकालागि ६० करोड बजेट स्वीकृत ।