राष्ट्रपति रनिङ शिल्ड

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु

पोखरा । पोखरामा बिहीबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरिय छात्र/छात्रा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्याङजाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् ।

छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१.२ सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पारिन् भने १५०० मिटर दौड उनले ५ मिनेट २६.४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । छात्रातर्फ ८०० मिटर दौडमा तनहुँकी बिनिता सार्की २ मिनेट ५२ सेकेण्डमा दौड पूरा गर्दै रजत पदक हात पार्दा बागलुङकी गंगा सुनारले २ मिनेट ५६.०३ सेकेण्डमा दौड पूरा गर्दै कास्य पदक हात पारिन् ।

यस्तै, ८०० मिटर छात्र दौडमा बादल कार्कीले २ मिनेट ०५.०९ सेकेण्डमा दौड पूरा गरी स्वर्ण जिते भने कास्कीका प्रवेश आचार्यले २ मिनेट ०८ सेकेण्डमा दौड पूरा गरी रजत र लमजुङका बिकास पोखरेल २ मिनेट ०९.०१ सेकेण्डमा दौड पूरा गरी कास्य पदक प्राप्त गर्न सफल रहे ।

यस्तै, १५०० मिटर छात्रातर्फको दौडमा बागलुङकी पार्वती नेपालीले ५ मिनेट ४०.३ सेकेण्डमा दौड पूरा गरी रजत पदक जितिन् भने नवलपुरकी यमुना थापाले ५१ मिनेट ४५.५ सेकेण्डमा दौड पूरा गरी कास्य पदक जित्न सफल भएका छन् । छात्रतर्फको १५०० मिटर दौडमा पर्वतका कृष्ण परियारले ४ मिनेट २२.९ सेकेण्डमा दौढ पूरा गरी स्वर्ण जितेका छन् भने लमजुङका विकास पोखरेलले ४ मिनेट २९.२ सेकेण्डमा दौड पूरा गरी रजत र कास्कीका विवेक परियारले ४ मिनेट ३२.१ सेकेण्डमा दौड पूरा गरी कास्य पदकमा चित्त बुझाए ।

बिहीबार नै सम्पन्न १०० मिटर दौड छात्रतर्फ नवलपुरका ताराप्रसाद थनेतले स्वर्ण पदक जिते । ताराले १० प्रतिष्पर्धीलाई उछिन्दै उनले १२.२ सेकेण्डमा पूरा गरी स्वर्ण जितेका हुन् । छात्रतर्फनै १२.०३ सेकेण्डमा दौड पूरा गरेका तनहुँका प्रेम बहादुर थापाले रजत पदक हात पार्दा म्याग्दीका आशिष केसीले १२.०९ सेकेण्डमा दौड पूरा गरी कास्य पदक प्राप्त गर्न सफल भए ।

छात्रा १०० मिटर दौडमा स्याङजाकी समिक्षा गैरेले १४.६६ सेकेण्डमा दौड पूरा गरी स्वर्ण पदक हात पारेकी छन् भने नवलपुरकी प्रतिक्षा वाग्लेले १५.२१ सेकेण्डमा दौड पूरा गरी रजत र लमजुङकी लक्ष्मी परियारले १६.०० सेकेण्डमा दौड पूरा गरी कास्य पदक हात पारिन् ।

प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५ सय ७४ जना खेलाडीको सहभागिता रहेको छ । उनीहरुले एथलेटिक्स, भलिबल, कब्बडी, तेक्वान्दो, कराते र उशुमा प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगिता भोली शुक्रबार सम्पन्न हुनेछ ।