राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता

राष्ट्रिय रेस्लिङ झापामा

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय रेस्लिङ विभागको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शनिबार झापामा हुने भएको छ ।

नेपाल रिङ रेस्लिङको संयोजनमा हुन लागेको प्रतियोगिता कमलस्थित केरखा शहिद धर्मभक्त माविमा हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखेले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा पुरुषमा पाँच (एक टिमसहित) र महिलामा एक गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

पुरुषमा हेभिवेट च्याम्पियनले १ लाख २५ हजार, हार्डकोर विजेताले १ लाख, मिडिल वेट विजेताले ९५ हजार, लाइट वेट विजेताले ६० हजार र ट्याग टिम विजेताले ७५ हजार नगद पुरस्कार पाउने छन् । महिलामा च्याम्पियन बन्नेलाई ७० हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी, ग्याङे, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोबर्टलगायतले प्रतिस्पर्धा गर्नेछन् ।