नवाैं राष्ट्रिय खेलकुद

राष्ट्रिय खेलकुद प्रतियाेगिता निर्धारित समयमा नै हुन्छ : सदस्यसचिव घिसिङ

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको लागि आइतबार बसेको बैठकमा प्रतियोगिता निर्धारित समयमै हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।

जेठ २२ देखि २८ गतेसम्म पोखरामा आयोजना हुने तय भएकाे प्रतियोगिताका लागि सदस्यसचिव घिसिङकै अध्यक्षतमा सातै प्रदेशका सदस्यसचिव, तीन विभागीय टोलीका प्रतिनिधि र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि सहभागी थिए ।

‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ । हुन्छ कि हुँदैन भन्ने संशय नराख्नु होला । आ–आफ्नो स्तरबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अगाडि बढाउन आग्रह गर्छु,’ उनले भने, ‘प्रतियोगिता र पूर्वाधारको व्यस्थापन गर्न समन्वय गर्नु आवश्यक थियो । त्यसैले पहिलो पटक बैठक बोलाइएको हो । बैठकले आगामी बोर्ड बैठकका लागि एजेन्डा तय गर्न पनि सहज हुन्छ ।’

घिसिङले नवौं राष्ट्रिय खेलकुदका बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भएको जानकारी दिए । यसैबीच उनले खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार र खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको बताए ।

बैठकमा सहभागी प्रदेशका प्रतिनिधिहरुले कर्मचारी व्यवस्थापन गर्नुपर्ने, पूर्वाधारको मर्मत सम्भार हुनु पनलगायतका धारणा राखेका थिए ।

बैठकमा प्रदेश १ खेलकुद परिषद्का सदस्यसचिव हंशराज वाग्ले, बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङलगायतका उपस्थिति थियो ।