सुदूरपश्चिम स्पाेर्टस् अवार्ड

सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष महिला खेलाडीलाई वनदेवी युवा क्लबको साथ

धनगढी । ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई कैलालीको वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । कैलालीको गोदावरी नगरपालिकाको तेघरीस्थित क्लबले अवार्डको वर्ष महिला खेलाडी विधालाई प्रायोजन गरेको हो । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा अघिल्लो संस्करण पनि क्लबले विधा प्रायोजन गरेर साथ दिएको थियो । विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै आएको वनदेवी युवा क्लब (विवाइसी) महिला गोल्डकपको तयारीमा रहेको छ । कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकपको तयारीमा क्लब जुटेको छ । वैशाख तीन गतेदेखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम मुख्यमन्त्री विवाइसी महिला गोल्डकपको आयोजना हुन गइहेको छ । 

वनदेवी युवा क्लब तेघरी लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहदैं आएको छ । क्लबले सुदूरपश्चिममा गोल्डकप आयोजना गर्नुअघि प्रदेशकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । प्रदेशमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिताहरुको उपाधि समेत जितेको छ । 

अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रवर्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । वर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोसले प्रायोजन गरेको छ ।