राष्ट्रिय महिला लिग

राष्ट्रिय महिला लिगः एपिएफ र धनगढी शतप्रतिशत जित यात्राको लक्ष्यमा

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र धनगढी उपमहानगरपालिका बिहीबार राष्ट्रिय महिला लिगमा लगातार तेस्रो जितको खोजीमा मैदान उत्रनेछन् ।

चितवनको भरतपुरमा जारी महिला लिगको तेस्रो चरण चलिरहँदा एपिएफ वालिङ नगरपालिकाविरुद्ध जित निकाल्दै उत्कृष्ट लय कायम राख्न चाहन्छ । एपिएफ वालिङबीचको खेल दिउँसो १ः१५ मा सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा साविक विजेता एपिएफले त्रिभुवन आर्मीलाई २–१ र दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई २-०  ले हराएको थियो । शतप्रतिशत नतिजा हात पारेको एपिएफको ६ अंक छ । समान दुई खेलेको वालिङ अंकविहीन छ ।

वालिङ भने प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । महिला लिगको पहिलो खेलमा वालिङ धनगढीसँग ६-०  ले  स्तब्ध भएको थियो । दोस्रो खेलमा विराटनगर महानगरपालिकालाई वालिङले ३-१ को नतिजा सुम्पिएको थियो ।

बिहीबारको अन्तिम खेलमा ललितपुर महानगरपालिकाको सामना गर्दा धनगढी पनि जित यात्राको निरन्तरता चाहन्छ । 

यता ललितपुरका लागि भने धनगढीविरुद्धको खेल गत वर्ष सम्पन्न उपमेयर कप महिला लिग छनोटको फाइनलमा व्यहोरेको हारको बदला लिने सुनौलो अवसर पनि हो ।