सहिद स्मारक ‘बी’ डिभिजन लिग

श्री भगवतीमाथि खुमलटारको सहज जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा खुमलटार युथ क्लबले श्री भगवती क्लबलाई ४–२ ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको २१औं मिनेटमा दिवस छन्त्यालले गरेको गोलबाट खुमलटार अग्रता बनाएको थियो । तर, ३१औं मिनेटमा सन्तोष केसीले गोल गर्दै श्री भगवतीलाई खेलमा फर्काएका थिए ।

यस्तै, ५५औं मिनेटमा दिवसले नै गोल गर्दै खुमलटारलाई फेरी अग्रतामा राखेका थिए । ८३औं मिनेटमा सुरोज बस्नेत खुमलटारबाट तेस्रो गोल गर्दा खेल सकिन एक मिनेट बाँकी रहँदा प्रसन्न श्रेष्ठले चौथो गोल गरे ।

श्री भगवतीका राजु गुरुङले खेलको इन्जुरी समयमा गोल गरेका थिए ।

जितसँगै खुमलटारले लिगको १०  खेलबाट १५ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको श्री भगवतीको १४ अंक छ ।