एनएसजेफ स्पाेर्टस अवार्ड

स्पोर्ट्स अवार्डले चुनेका ‘लोकप्रिय खेलाडी’

एउटा खेलाडीको सफलतामा मिठास तब आउँछ, जब त्यसमा समर्थकको माया र साथ रहन्छ । खेलाडीले समर्थकमाझ बनाएको छापको मूल्यांकन हुन्छ । समर्थकले नै आफ्नो मन मस्तिष्कमा राज गरेका नायक/नायिकाको पहिचान गर्छन् । हो, त्यतिबेला एउटा खेलाडी सबैभन्दा धेरै खुसी हुन्छ । किनकि उसले खेल्ने भनेकै आखिर समर्थक र राष्ट्रका लागि त हो ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अन्य अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउने क्रममा २०५३ सालबाट नेपालमा पनि स्पोर्ट्स अवार्डको थालनी गर्यो ।

अवार्ड सुरु भएको १२ वर्षपछि प्रदान गर्न थालिएको लोकप्रिय विधाले खेलाडीको जीवनमा नै आमूल परिवर्तन ल्याइदिएको छ । वर्षभर गरेको प्रदर्शनले समर्थकको माया र साथ पाएका खेलाडीका लागि यो अवार्ड विशेष रहँदै आएको छ । पछिल्लो समय उनीहरूले अवार्ड जितेसँगै पल्सर मोटरसाइकल पुरस्कार पाउँदै आएका छन् ।

सुरुआती संस्करणपछि केही वर्ष स्थगित अवार्डले २०६० सालदेखि निरन्तरता पाएको हो । सुरुमा सामान्य रूपमा सुरु भएको अवार्डले प्रत्येक वर्ष आकार, प्रतिष्ठा र दायरा फराकिलो पार्दै जानेक्रममा २०६५ सालबाट अर्को एउटा विधा थप गर्यो । जसले नेपाली खेलकुदलाई हरेक तह र तप्काका नेपालीमाझ पुर्याउन ठूलो योगदान गर्न थाल्यो । स्पोर्ट्स अवार्ड त्यही विधा हो, अहिलेको पिपल्स च्वाइस अवार्ड । सुरुमा लोकप्रिय खेलाडी विधाको नाममा सुरु भएको यो अवार्डमा अहिले पिपल्स च्वाइस विधाको नाममा समर्थकले आफ्ना प्रिय खेलाडी चुन्ने गर्छन् ।

अवार्ड सुरु भएको १२ वर्षपछि प्रदान गर्न थालिएको लोकप्रिय विधाले खेलाडीको जीवनमा नै आमूल परिवर्तन ल्याइदिएको छ । वर्षभर गरेको प्रदर्शनले समर्थकको माया र साथ पाएका खेलाडीका लागि यो अवार्ड विशेष रहँदै आएको छ । पछिल्लो समय उनीहरूले अवार्ड जितेसँगै पल्सर मोटरसाइकल पुरस्कार पाउँदै आएका छन् ।

२०६५ सालदेखि २०७५ सालसम्म एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेताको टुंगो लगाइन्थ्यो । गत संस्करणबाट भने अनलाइन भोटिङमार्फत पिपल्स च्वाइस अवार्ड विजेताको टुंगो चयन हुन थालेको छ ।

वर्षका हिसाबले लोकप्रिय÷पिपल्स च्वाइस अवार्ड समावेश गरिएको १२ वर्ष पूरा भइसके पनि ११ जनामात्र विजेता यस विधाले पाएको छ । २०७२ सालमा महाभूकम्पका कारण अवार्ड नहुँदा यस्तो भएको हो । ११ खेलाडीले लोकप्रिय÷पिपल्स च्वाइस अवार्डमाथि कब्जा जमाउँदा भलिबल सबैभन्दा सफल खेलको रूपमा स्थापित भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलबाट ६ महिला खेलाडी यो अवार्डबाट सम्मानित हुँदा टेबलटेनिसका दुई, एथलेटिक्सबाट एक, उसुका एक र फुटबलका एक खेलाडी सम्मानित भएका छन् ।

नेपाली खेलकुदको बहुप्रतीक्षित अवार्डको १८औं संस्करण आउँदो मंगलबार काठमाडौंको प्रज्ञा भवनमा हुँदै छ । विगतको तुलनामा केही फरक तरिकाले हुन लागेको अवार्डमा पिपल्स च्वाइस विधाको स्वरुप भने उस्तै छ । यसपालि पनि मञ्चले अघिल्लो वर्ष चर्चामा रहेका पाँच खेलाडीलाई समावेश गर्दै मनोनयन सार्वजनिक गरिसकेको छ ।

यस वर्ष पिपल्स च्वाइस अवार्डको मनोनयनमा टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल, फुटबलकी एन्जिला तुम्बापो सुब्बा र ब्याटमिन्टनका प्रिन्स दाहाल परेका छन् । समर्थकले गरेको फेसबुक लाइक र अनलाइन भोटिङका आधारमा विजेताको टुंगो लगाइने यो अवार्ड कस्ले जित्ला भन्ने प्रश्नको उत्तर मंगलबार पाइनेछ । यसअघि लोकप्रिय÷पिपल्स च्वाइस विधाको मनोनयनमा पर्ने र अवार्ड जित्ने खेलाडीको सूची यसप्रकार छ ।

२०६५ साल

पल्सर स्पोर्टस अवार्ड लोकप्रिय विधाको पहिलो संस्करणमा भलिबल सुन्दरी मञ्जु गुरुङले बाजी मारिन् । त्यतिबेला उनीसँगै मनोनयनमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान राकेश श्रेष्ठ र गोलकिपर विकास मल्लसँगै क्रिकेटका विनोद दास, बुद्धिचालका मनीष हमाल र पौडीकी जलपरी करिश्मा कार्की मनोनयनमा थिए । तर पोखरेली भलिबल स्टार मञ्जुले सबैलाई पछि पार्दै लोकप्रिय विधाको पहिलो विजेता बन्ने इतिहास रचिन् ।

२०६६ साल

वर्ष २०६६ मा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सन्तोष साहुखलले लोकप्रिय खेलाडीको अवार्ड जिते । हालसम्म पल्सर स्पोर्टस अवार्डको यो विधा जित्ने उनी एकमात्र फुटबल खेलाडी हुन् ।

अवार्ड हात पार्ने क्रममा सन्तोषले महिला फुटबलकी राष्ट्रिय खेलाडी जमुना गुरुङ, एथलेटिक्सका राजेन्द्र भण्डारी, तेक्वान्दोकी आयशा शाक्य, क्रिकेटका शरद भेषावाकर, गल्फका रुपक आचार्य र उसुका आङबाबु लामालाई पछि पारेका थिए ।

२०६७

वर्ष २०६७ मा भलिबलकै सिपोरा गुरुङले लोकप्रिय खेलाडीको अवार्ड जितिन् । त्यसबेला नेपाली भलिबलमा मज्जासँग छाइसकेकी सिपोरा हाल अध्ययनका लागि अमेरिकामा छन् । सिपोराले बक्सिङका दीपक महर्जन, क्रिकेटका राहुल बिक, पौडीकी श्रेया धिताल र फुटबलका सागर थापालाई पछि पार्दैै लोकप्रिय खेलाडीको अवार्ड जितेकी थिइन् ।

२०६८

वर्ष २०६८ मा पनि भलिबलकै रमिला तण्डुकारले वर्षको लोकप्रिय खेलाडीको अवार्ड जितिन् । महिला भलिबल खेलाडीले लोकप्रिय विधाको अवार्ड जितेको यो लगातार दोस्रो वर्ष थियो भने समग्रमा तेस्रो ।

रमिलाले यसक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका शक्ति गौचन, फुटबलका भरत खवास, एथलेटिक्सकी सविता चौधरी र टेनिसकी अस्लेशा लिसानेभिचलाई पछाडि छोड्दै अवार्ड जितेकी थिइन् ।

२०६९

वर्ष २०६९ मा उसुकी झरना गुरुङले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, फुटबलका जगजित श्रेष्ठ, पौडीका शिरीष गुरुङ र एथलेटिक्सकी केशरी चौधरीलाई पछि पार्दै लोकप्रिय खेलाडीको अवार्ड जितिन् । उसुले लोकप्रिय विधातर्फ हात पारेको यो नै अहिलेसम्मको एकमात्र सफलता हो ।

२०७०

वर्ष २०७० मा भलिबलकै सरस्वती चौधरीले लोकप्रिय विधाको अवार्ड जितिन् । एपिएफकी सरस्वतीले वर्षको लोकप्रिय खेलाडीको अवार्ड जित्नेक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, फुटबलका विमल घर्तीमगर, पौडीकी सोफिया शाह र एथलेटिक्सका यामसाजन सुनारलाई पछि पारेकी थिइन् । लोकप्रिय विधामा भलिबल खेलाडीले बाजी मारेको यो चौथो अवसर थियो ।

२०७२

वर्ष २०७२ मा टेबलटेनिसकी नविता श्रेष्ठले पिपल्स च्वाइस अवार्ड जितिन् । नविताले फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी प्रतिभा माली, भारोत्तोलनकी तारादेवी पुन र क्रिकेटका सन्दीप लामिछानेलाई पछि पार्दै उपाधि जितेकी थिइन् ।

पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेर पनि भलिबल खेलाडीले अवार्ड नजितेको यो पहिलो पटक थियो ।

२०७३

एथलेटिक्सकी कान्छीमाया कोजुले २०७३ सालमा पिपल्स च्वाइसको अवार्ड जितिन् । एथलेटिक्सले यस विधामा पाएको यो पहिलो सफलता थियो । कान्छीमायाले क्रिकेटका दीपेन्द्रसिंह ऐरी, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठलाई पछाडि छाडेकी थिइन् ।

२०७४

टेबलटेनिसका स्यान्टु श्रेष्ठले वर्ष २०७४ मा पिपल्स च्वाइस अवार्ड जितेका थिए । टेबलटेनिसले यस विधामा हात पारेको यो दोस्रो सफलता थियो ।

उनले यसक्रममा फुटबलका किरणकुमार लिम्बु, भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिभा शेर्पा र क्रिकेटका सन्दीप लामिछानेलाई पछि पारेका थिए ।

२०७५

वर्ष २०७५ मा नेपाली राष्ट्रिय भलिबल टोलीकी स्पाइकर रेश्मा भण्डारीले शारीरिक सुगठनका महेश्वर महर्जन, क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड जितिन् ।

नेपाली महिला भलिबल खेलाडीले यस विधाको अवार्ड जितेको यो पाँचौं पटक थियो ।

२०७६

वर्ष २०७६ मा नेपाली भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइसको अवार्ड जितिन् । यसक्रममा उनले सागका दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ, राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र पौडीकी गौरिका सिंहलाई पछि पारेकी थिइन् ।