इङ्लिस प्रिमियर लिग

सर्वाधिक गोलकर्ताको दौडमा हाल्यान्ड अघि

लन्डन । म्यानचेस्टर सिटीका एर्लिङ हाल्यान्डका लागि इङ्लिस प्रिमियर लिगको पहिलो सिजन निकै सुखद भैरहेको छ । 

जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट सिटी आएका हाल्यान्डले १९ खेलमा लिगमा २५ गोल पूरा गरिसकेका छन । उनले आइतबार उल्भहमटनविरुद्ध ह्याट्रिक पूरा गर्दै लिगमा आफुनो गोल संख्या २५ पुर्याएका हुन । उनी सर्वाधिक  गोल गर्ने खेलाडीको सुचीको अग्र स्थानमा छन । टोटनहमका कप्तान ह्यारी केन १५ गोलसहित दोस्रो स्थानमा छन ।

गत सिजन लिभरपुलका मोहम्मद सलाह र टोटनहमका सन ह्युङ मिनले २३ गोलसहित संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको रुपमा प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए । यस सिजन भने सलाहले मात्र सात गोल गरेका छन ।

हाल्यान्डले २५ गोलमध्ये घरेलु मैदान इत्तिहादमा खेलेको ११ खेलमा १८ गोल गरेका छन । उनले सर्जियो अग्विरोको नाममा रहेको एकै सिजन घरेलु मैदानमा सर्वाधिक गोल गर्ने कीर्तिमान समेत तोडेका छन । अग्विरोले घरेलु मैदानमा एकै सिजन १६ गोल गरेका थिए । 

यस सिजन प्रिमियर लिगमा हाल्यान्डले चार पटक ह्याट्रिक पूरा गरिसकेका छन । सिटी २० खेलमा ४५ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनलभन्दा पाँच अंक कम हो ।