सन्दिप लामिछाने

सन्दिपविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने

काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप लामिछानेको मुद्दामा आज सुुनुवाई नहुने भएको छ ।

काठमाडौं जिल्ला अदालतले आजका लागि पेसी तोकेको थियो । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिए पनि जाहेरवाला पिडित नाबालिकको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले पेसी स्थगित गर्न निवदेन दिएकी थिइन । 

कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

 सो फैसलाविरुद्ध सन्दिपका वकिलले पुनरावेदनका लागि उच्च अदालत पाटनमा निवेदन दिएका थिए । पुस २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदातलको पुर्पक्षका लागि थुनामा पठाउने फैसला उल्ट्याइ दिएको थियो । उच्च अदालतले विभिन्न सर्तसहित सन्दिपलाई २० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उनी पुस २९ गते सुन्धारास्थित केन्द्रिय कारागारबाट धरौटीमा रिहा भएका थिए ।

भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले आत्मासमर्पण गरेका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।